काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी पाँच वर्षभित्र ठोस उपलब्धि दिलाउन सक्ने खालको व्यावहारिक घोषणापत्र ल्याउने तयारी गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण भइरहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिँदै घोषणापत्र अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार घोषणापत्रले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख र समृद्धिको चाहनालाई सम्बोधन गर्नेछ। अध्यक्ष ओलीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए। उनले एमाले सुदृढ संगठन, व्यापक जनसमर्थन र लोकप्रियताका आधारमा मुलुकको नेतृत्व गर्न सक्षम पार्टी भएको दाबी पनि गरे।
उनले गत भदौमा भएका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुगेको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा सुदृढीकरण र मजबुत राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै त्यसका लागि एमालेले उच्च मनोबलका साथ नेतृत्व गर्ने बताए। राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानको रक्षा केवल समर्पणबाट सम्भव नहुने भन्दै आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षाको बाटो अपनाइने उनको भनाइ थियो। कार्यक्रममा सहभागी विज्ञहरूले घोषणापत्र जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने परिणाममुखी हुनुपर्ने सुझाव दिएका थिए। एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरिसकेको छ।
समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्। पार्टीले चाँडै नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।




