देश

बालेन फिल्मको हिरो कि भावी प्रधानमन्त्रीका उम्मेदवार ?

काठमाडौं । चुनावी मैदानमा एउटा अनुहार यति धेरै चर्चामा छ बालेन शाह ,बालेन जहाँ पुग्छन्, त्यहाँ राजनीति कम र दृश्य बढी देखिन्छ। समर्थकको भीड, स्कर्टिङमा दौडिएका गाडी, हात हल्लाउँदै अघि बढ्ने शैली—कहिलेकाहीँ लाग्छ, यो कुनै चुनावी प्रचार होइन, कुनै फिल्मको सुटिङ हो। यही दृश्यका बीच एउटा प्रश्न झन् तीखो बन्दै गएको छ—बालेन्द्र शाह ‘बालेन’ आखिर फिल्मका हिरो हुन् कि भावी प्रधानमन्त्रीका उम्मेदवार?

यही प्रश्नलाई थप आगो दिने अभिव्यक्ति शुक्रबार नेकपा एमालेका सचिव महेश बस्नेतबाट आयो। राष्ट्रिय युवा सङ्घको कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरे। उनका शब्द कडा थिए—“अहिले नेपालमा पनि डबल अवतारमा हिँड्ने जेलेन्स्कीहरू जन्माइँदैछन्। जब विदेशी स्वार्थ पूरा हुन्छ, तब उनीहरूलाई नेता होइन, जोकर भनिन्छ।”

बस्नेतको टिप्पणी यहीँ रोकिन्न। उनले पश्चिमा शक्तिहरूले नेपाललाई भूराजनीतिक खेलमैदान बनाउने षड्यन्त्र गरिरहेको दाबी गरे। “रकेट लन्च गर्ने भूमिकामा नेपाललाई प्रयोग गर्न खोजिँदैछ,” भन्दै उनले युवा पुस्तालाई ‘हिरोको चमक’ भन्दा पछाडिको यथार्थ बुझ्न चेतावनी दिए। बस्नेतको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहबीच ‘बृहत् एकता’ को सहमतिमा जोडिन्छ ।

कागजमा लेखिएको सहमति निकै महत्वाकांक्षी छ—पार्टीको नाम, चुनाव चिन्ह ‘घण्टी’, झण्डा सबै यथावत् रहने, सभापति रवि लामिछाने नै हुने, र बालेन संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार। तर यही सहमतिले अर्को प्रश्न पनि जन्मायो—के बालेन राजनीतिमा संस्थागत रूपमा प्रवेश गर्दैछन्, कि उनी केवल ‘फेस’ मात्र बनाइँदैछन्? सुदूरपश्चिमदेखि कर्णालीसम्म बालेनको चुनावी यात्रा दृश्यात्मक रूपमा भव्य देखियो। तीन दिनमै नौ जिल्ला, दर्जनौँ निर्वाचन क्षेत्र—तर भाषण शून्य। गाडी रोकिन्छ, झ्याल खुल्छ, हात हल्लिन्छ, घण्टी बज्छ, अनि गाडी अघि बढ्छ। कतै सवाल–जवाफ छैन, कतै एजेन्डा छैन।

यही मौनताबीच एउटा अनौठो दृश्यले सामाजिक सञ्जाल ततायो—बालेनकै हुलियामा देखिने अर्का व्यक्ति, गाडीको रुफटपबाट घण्टी बजाउँदै समर्थकलाई हात हल्लाइरहेका। पछि थाहा भयो, उनी टीकापुरका गोपाल कोइराला रहेछन्, बालेनका ‘फ्यान’। तर यो दृश्यले व्यंग्य जन्मायो—के बालेन अब व्यक्ति होइन, ‘ब्रान्ड’ भइसके?

हिरोको छायाँ, नेताको परीक्षा

बालेनको यात्रामा उत्साह मात्रै छैन, प्रश्न पनि छन्। महँगो गाडी, स्कर्टिङ सुविधा, समर्थकको भीडमा घाइते, टोलीका सदस्यको गम्भीर स्वास्थ्य अवस्था—यी सबैले ‘स्टार राजनीति’ को जोखिम देखाइरहेका छन्। प्रधानमन्त्रीका सम्भावित उम्मेदवार सार्वजनिक बहसबाट टाढा रहँदा आलोचना पनि बढेको छ। ठूला दलका शीर्ष नेताहरू खुला बहसको चुनौती दिइरहेका बेला बालेनको मौनता झन् चर्को सुनिन्छ।

राजनीति अभिनय होइन। यहाँ संवाद चाहिन्छ, जवाफ चाहिन्छ, जिम्मेवारी चाहिन्छ। भीडले हिरो बनाउँछ, तर इतिहासले नेता छान्छ।

त्यसैले प्रश्न अझै खुला छ— बालेन फिल्मका हिरो जस्तै दृश्यमा सीमित हुने हुन्, कि भाषण, बहस र नीतिसहित प्रधानमन्त्रीका वास्तविक उम्मेदवार बन्ने साहस देखाउने छन्?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *