देश

सुदन गुरुङले आफूलाई ठूलो देखाउन सुरक्षाकर्मी मागेको सिडिओको खुलासा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखा–१ का उम्मेदवार सुदन गुरुङले आफूलाई सुरक्षा खतरा रहेको दाबी गर्दै निजी सुरक्षा गार्ड (पिएसओ) मागे पनि जिल्ला प्रशासन कार्यालय गोरखाले त्यसलाई अस्वीकार गरेको छ । प्रशासनले हालको अवस्थामा त्यस्तो जोखिम नदेखिएको निष्कर्ष निकाल्दै सुरक्षाकर्मी उपलब्ध गराउन नसकिने स्पष्ट पारेको हो ।

चुनावी प्रचारका क्रममा घरदैलो अभियानमा रहेका गुरुङलाई लक्षित गर्दै हतियारसहितका व्यक्तिहरूले पछ्याइरहेको दाबी गर्दै रास्वपाका जिल्ला सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा निवेदन दिएका थिए । निवेदनमा “गोप्य सूचनाका आधारमा व्यक्तिगत सुरक्षा जोखिम बढेको” उल्लेख गर्दै आवश्यक सुरक्षाको माग गरिएको थियो ।

तर, निवेदन परेपछि जिल्ला प्रशासन र सुरक्षा निकायले संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान गर्दा दाबी गरिएजस्तो सुरक्षा खतरा नरहेको ठहर भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सुरक्षा संयन्त्रले दिनभर गरेको मूल्यांकनमा गुरुङ वा अन्य कुनै उम्मेदवारमाथि तत्काल खतरा देखिएको छैन ।

“उम्मेदवारको सुरक्षा हाम्रो दायित्व हो,” प्रहरी स्रोतले भन्यो, “तर अहिले पिएसओ आवश्यक पर्ने अवस्था देखिएन । भविष्यमा जोखिम देखिएमा सुरक्षाको व्यवस्था गर्न सकिन्छ ।”

यसअघि गुरुङले एमाले समर्थकबाट आफूलाई खतरा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर, एमालेका स्थानीय नेताहरूले भने चुनावी परिणाम आफ्नो पक्षमा नदेखिएपछि सहानुभूति र चर्चा बटुल्न यस्तो सुरक्षा नाटक गरिएको आरोप लगाएका छन् । सुरक्षा माग र त्यसको अस्वीकारसँगै गोरखा–१ को चुनावी माहोलमा आरोप–प्रत्यारोप थप चर्किएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *