काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा भइरहेको निर्वाचन प्रक्रिया सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर रहेको दाबी गरेका छन् । उनका अनुसार जनआकांक्षाको नाममा युवापुस्ताको भावना प्रयोग गर्दै नेपाललाई गम्भीर भूराजनीतिक जोखिमतर्फ धकेल्ने प्रयास भइरहेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गते देखिएको जेन–जी आन्दोलनलाई योजनाबद्ध रूपमा मोडेर देशलाई बाह्य शक्तिको द्वन्द्वमा फसाउने घटना भएको आरोप लगाए । उनले उक्त आन्दोलनलाई “अपहरण गरिएको” भन्दै त्यसको परिणामस्वरूप राजनीतिक अस्थिरता झन् बढेको दाबी गरे ।
महासचिव पोखरेलका अनुसार यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर पार्दै मुलुकलाई कठपुतली सरकारतर्फ धकेल्ने खतरा बढेको छ । “नेपाललाई शक्तिराष्ट्रहरूको खेलमैदान बनाउने षड्यन्त्र भइरहेको छ,” उनले भने, “यो देशलाई भूराजनीतिक द्वन्द्वको अखडा बन्न दिनु हुँदैन ।”
उनले राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले दृढतापूर्वक उभिएको बताए । बाह्य चलखेलविरुद्ध राजनीतिक रूपमा सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै पोखरेलले आगामी दिनमा यस्ता प्रयासविरुद्ध एमाले अझ सशक्त रूपमा प्रतिरोध गर्ने स्पष्ट पारे । उनको अभिव्यक्तिले निर्वाचन र युवापुस्ताको राजनीतिक सक्रियताबारे नयाँ बहस जन्माएको छ ।




