राजनीति

प्रधानमन्त्री दाबेदारहरू‘पब्लिक डिबेट’ को मञ्चमा आउन तयार, बालेनको अस्वीकारले उठायो प्रश्न

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गरिरहेका प्रमुख दलका शीर्ष नेताहरू सार्वजनिक बहसका लागि तयार देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले खुलेर ‘पब्लिक डिबेट’ मा सहभागी हुने घोषणा गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन साह भने बहसबाट टाढिने अडानमा छन् ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सार्वजनिक बहसका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । प्रधानमन्त्रीका उम्मेदवार गगन थापालाई अघि सार्दै शर्माले भने, “जहाँ बहस गर्नुपर्छ, त्यहीँ हामी उम्मेदवार उतार्न तयार छौँ । रंगशालामा फ्लड लाइट बालेर बहस गरौँ । अनुभव, ऊर्जा र स्पष्ट भिजन सबै छ ।” उता, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पब्लिक डिबेट नयाँ कुरा नभएको भन्दै आफू सधैं तयार रहेको बताएका छन् । पेरिसडाँडामा सञ्चारकर्मीसँग बोल्दै उनले देशव्यापी यात्रादेखि सार्वजनिक बहससम्म आफू अग्रपंक्तिमै रहेको दाबी गरे ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले त सामाजिक सञ्जालमार्फत नै बहसको औपचारिक चुनौती दिएका छन् । “आमनेसामने उभिएर विगतमा के गर्‍यौँ र भविष्यमा के गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु,” भन्दै उनले प्रधानमन्त्रीको दाबी गर्ने सबैलाई एउटै मञ्चमा उभिन आह्वान गरेका छन् । तर, यही बहसको माहोलमा बालेन साहको अडान भने अलग देखिएको छ । उनले पब्लिक डिबेटमा सहभागी नहुने स्पष्ट संकेत दिँदै ओलीप्रति लक्षित गर्दै ‘हत्यारा’ र ‘मतियार’ सँग एउटै मञ्च नबाँड्ने टिप्पणी गरेका छन् । उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ ।

ठूला दलका शीर्ष नेताहरू बहसका लागि खुला हुँदा बालेनको अस्वीकारलाई कतिपयले अहंकारको संज्ञा दिएका छन् भने कतिपयले नेतृत्वका लागि आवश्यक परिपक्वताको अभावको संकेत मानेका छन् । “प्रधानमन्त्री बन्न खोज्ने मान्छे बहसबाट भाग्नु राम्रो संकेत होइन,” बालेन निकट मानिने एक जेनजी अभियन्ताले भने, “यसले डराएको, एजेण्डा नखुलेको र पारदर्शिताबाट टाढा भागेको सन्देश दिन्छ ।”चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा पब्लिक डिबेट अब केवल बहसको विषय मात्र नभई नेताहरूको आत्मविश्वास, दृष्टिकोण र नेतृत्व क्षमताको परीक्षा बन्ने संकेत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *