काठमाडौं । नेपाली कांग्रेसले महोत्तरी क्षेत्र नम्बर १ बाट मुलुककै अनुभवी प्राविधिक, योजनाकार र शैक्षिक व्यक्तित्व डा. मुकेशराज काफ्लेलाई प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उर्तिएका छन् । ऊर्जा, पूर्वाधार र शैक्षिक क्षेत्रमा दशकौँको योगदान दिएका काफ्ले कांग्रेसका तर्फबाट ‘हेवीवेट’ उम्मेदवारका रूपमा देखिएका छन्।
महोत्तरीमा जन्मिएर राष्ट्रिय नीति निर्माणसम्मको यात्रामा पुगेका डा. काफ्ले नेपालको बौद्धिक समुदायमा फरक पहिचान बनाइसकेका नाम हुन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, लुम्बिनी विकास कोषका योजना प्रमुख, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा इञ्जिनियरिङ अध्ययन संस्थानका शैक्षिक नेतृत्वदायी भूमिकाबाट उनले आफूलाई प्रमाणित गरेका छन्। अब भने उनले आफ्नो अनुभवलाई प्रत्यक्ष राजनीतिमार्फत् देश र जनताको सेवामा समर्पित गर्ने निर्णय गरेसँगै निर्वाचनमा होमिएका हुन् ।
२०३१ भदौ १२ गते महोत्तरीमा जन्मिएका काफ्लेले प्रारम्भिक शिक्षा स्थानीय सामुदायिक विद्यालयबाट हासिल गरेका थिए। विद्यार्थी जीवनदेखि नै सामाजिक र राजनीतिक चेतनामा सक्रिय काफ्लेले पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएकै कारण किशोर अवस्थामा हिरासतसमेत भोगेका थिए। शैक्षिक रूपमा अब्बल काफ्ले एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुँदै पुल्चोक क्याम्पस पुगे, जहाँबाट उनले सिभिल इञ्जिनियरिङमा स्नातक र स्नातकोत्तर तथा पछि विद्यावारिधिसमेत पूरा गरे।
पुल्चोक क्याम्पसमा अध्ययनकै क्रममा नेपाल विद्यार्थी संघको नेतृत्व गर्दै स्ववियु सभापति बनेका काफ्लेले इञ्जिनियरिङ शिक्षामा दीर्घकालीन प्रभाव पार्ने पूर्ण शुल्कीय कार्यक्रम लागू गराउन निर्णायक भूमिका खेले। आज इञ्जिनियरिङ अध्ययन संस्थान आर्थिक रूपमा सबल हुनुको आधार त्यही निर्णयलाई मानिन्छ।
डा. काफ्लेको नेतृत्व क्षमता सबैभन्दा बढी उजागर भएको समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल हो। दैनिक १२ घण्टासम्म लोडसेडिङ भइरहेको, पूर्वाधार कमजोर र आपूर्ति–मागबीच ठूलो खाडल रहेको अवस्थामा उनले प्राधिकरणको जिम्मेवारी सम्हाले। २०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीजस्ता राष्ट्रिय संकटबीच पनि विद्युत प्रणाली पुनःस्थापना, भारतसँग विद्युत आयात–निर्यातका लागि ऐतिहासिक सम्झौता, मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइन सञ्चालन र ९९ बुँदे ऊर्जा संकट निवारण गुरुयोजना कार्यान्वयनमा उनको नेतृत्व निर्णायक रह्यो। सोही कारण नागरिकहरुले डा. काफ्ले राजनीतिमा होमिनुलाई सकरात्मक बताउँदै आएका छन् । उनकै कार्यकालमा लोडसेडिङ क्रमशः अन्त्यतर्फ उन्मुख भएको र आजको ऊर्जा संरचनाको आधार तयार भएको ऊर्जा क्षेत्रका विज्ञहरू बताउँछन्।
प्राधिकरणबाट राजीनामा दिएपछि पुनः शिक्षण पेशामा फर्किएका काफ्लेले पुल्चोक क्याम्पसमा अध्यापन गर्दै हाइड्रोपावर कार्यक्रमको संयोजन गरे। महोत्तरीको शिक्षा, सिँचाइ र नदी नियन्त्रणमा निरन्तर सक्रिय भूमिका खेलेका काफ्लेलाई नेपाली कांग्रेस महोत्तरी–१ ले प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो। पूर्णकालीन राजनीतिमा होमिन उनले हालै प्राध्यापन पेशाबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन्। डा .काफ्लेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “नीति निर्माणमा अनुभव, कार्यान्वयनमा दक्षता र जनताप्रतिको उत्तरदायित्व” आफ्नो राजनीतिक आधार भएको उनको भनाइ छ।
महोत्तरी–१ मा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीलगायतका उम्मेदवारसँग प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा कडा प्रतिस्पर्धा भएको यस क्षेत्रमा यसपटक औपचारिक गठबन्धन नहुँदा चुनावी माहोल झनै रोचक बनेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी क्षेत्र नं १ मा २७ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट मुकेशराज काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, नेपाली कम्युनिस्ट पार्टीबाट गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार महतोको मनोनयन दर्ता भएको छ ।
अनुभव, दक्षता र स्पष्ट दृष्टिकोणसहित मैदानमा उत्रिएका डा.मुकेशराज काफ्ले महोत्तरी–१ को राजनीतिक समीकरण बदल्ने उम्मेदवारका रूपमा हेरिएको छ ।




