काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको उल्लेख गर्दै लोकतन्त्र र संविधानको संरक्षणका लागि नेपाली कांग्रेस अझ सशक्त बन्न आवश्यक रहेको बताएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मुलुकको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। सात दशकभन्दा बढी संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि जोगाउन निर्वाचन सफल बनाउनु आजको प्रमुख दायित्व भएको उनको भनाइ थियो।
नेता राठोरले अधिकार सम्पन्न समाज निर्माण, विकासका आधार तयार पार्ने र दीर्घकालीन शान्ति स्थापनामा नेपाली कांग्रेसको ऐतिहासिक योगदान रहेको स्मरण गराए। यी उपलब्धिहरू कांग्रेसका नेता तथा कार्यकर्ताको त्याग, समर्पण र बलिदानको परिणाम भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि देशको बाँकी जिम्मेवारी कांग्रेसकै नेतृत्वमा पूरा हुने विश्वास व्यक्त गरे।
जनताप्रति जवाफदेही पार्टी नेपाली कांग्रेसलाई थप मजबुत बनाउन नेता, कार्यकर्ता र शुभेच्छुकहरू एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए। कांग्रेसले गरेका कामहरूको निष्पक्ष मूल्यांकन गरी आगामी निर्वाचनमा समर्थन जनाउन उनले मतदातालाई आग्रह गरे। बर्दियाको समग्र विकासलाई निरन्तरता दिन विगतमा सुरु गरिएका योजनाहरूलाई टुंगोमा पुर्याउने र नयाँ विकास कार्यक्रम अघि बढाउने उद्देश्यसहित आफूले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको जानकारी उनले दिए।
कार्यक्रमका अवसरमा तत्कालीन माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार कलिराम थारुसहित एमाले र अन्य दल परित्याग गरेका विभिन्न स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई नेता राठोरले खादा र मालासहित पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे।




