काठमाडौं । साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका युवराज सफल उर्फ युवराज पौडेल एक रातमै हिरासतबाट रिहा भएका छन्। सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छोडेपछि उनी बुधबार हिरासत मुक्त भएका हुन्।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्तासँग जोडिएको विषयमा महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सफललाई पक्राउ गरिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेपछि सीआईबीको टोलीले मंगलबार बिहान उनको निवासबाट नियन्त्रणमा लिएको थियो। हिरासतबाट बाहिरिएपछि सफलले आफूलाई पक्राउ गरिनु राजनीतिक प्रतिशोध भएको दाबी गरे। ‘मलाई धेरै दिन खोरमा थुन्ने अवस्था रहेन,’ भन्दै उनले आफूलाई ‘बाघ’सँग तुलना गरे। ‘अमेरिका नै लाग्दा पनि युवराज सफललाई रोक्न सकेनन्,’ उनले प्रतिक्रिया दिएका छन्।
यद्यपि, सफलले आफ्ना केही अभिव्यक्तिप्रति आत्मआलोचना पनि गरेका छन्। उनले भने, ‘आवेशमा आएर बोलेको स्वीकार्छु। म जत्तिको बौद्धिक र न्यायिक व्यक्तित्वले त्यस्तो भाषा प्रयोग गर्नुहुँदैनथ्यो भन्ने महसुस भएको छ। अब आइन्दा मर्यादित भएर बोल्छु।’ सफलका अनुसार पक्राउको क्रममा प्रहरीले सम्मानजनक व्यवहार गरेको थियो। ‘म स्वयं छिटो जान आग्रह गरेर प्रहरीसँग गएको हुँ,’ उनले भने। उनले मुद्दा भने फिर्ता नभएको र अब विषय अदालतमा प्रवेश गर्ने स्पष्ट पारे।
आफू सहकारी तथा अन्य पीडितको पक्षमा बोलेको भन्दै सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतसम्म उजुरी दिएको बताए। ‘त्यही कारणले मलाई लक्षित गरेर पक्राउ गरिएको हो,’ उनको दाबी छ। हिरासतपछि सामाजिक सञ्जालमार्फत पनि सक्रिय देखिएका सफलले आफू पक्राउ पर्दा खुशी मनाउनेहरू अहिले निराश बनेको टिप्पणी गरेका छन्। फेसबुक स्टाटसमा उनले एमसीसी विरोधी अभियानकै कारण आफूलाई फसाउने प्रयास असफल भएको दाबी गर्दै ‘विश्वशक्तिले हारेको’ जस्ता अभिव्यक्ति दिएका छन्। आवेशका कारण बोलेका शब्दहरू भविष्यमा नदोहोर्याउने प्रतिबद्धता जनाउँदै सफलले भने, ‘पीडित हुँदा कहिलेकाहीँ विवेकले काम गर्दैन। तर अब त्यस्तो हुन दिनेछैनँ।’




