काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूको गतिविधि तीव्र भइरहँदा, अर्कातर्फ निर्वाचनकै वैधतामाथि प्रश्न उठाउँदै आन्दोलनको तयारी पनि चर्किँदै गएको छ। निर्वाचनअघि सर्वदलिय सरकार गठन हुनुपर्ने अडानसहित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले चुनावतर्फ मात्र केन्द्रित भए त्यसलाई रोक्ने चेतावनी दिएका छन्।
सातै प्रदेशमध्ये समानुपातिक मतका आधारमा सबैभन्दा बलियो आधार रहेको मधेश प्रदेश अहिले दलहरूको प्रमुख चुनावी केन्द्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले माघ ५ गते जनकपुरमा चुनावी सभा सम्पन्न गरिसकेको छ भने कांग्रेस, नेकपा लगायत अन्य दलहरूले पनि मधेश केन्द्रित चुनावी सभाको तयारी तीव्र पारेका छन्। चुनावी गणनामा मधेशको भूमिकालाई राजनीतिक दलहरूले कति महत्व दिएका छन् भन्ने यसबाट स्पष्ट देखिन्छ।
यही मधेशलाई केन्द्रमा राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेको राजावादी समूहले पनि शक्ति प्रदर्शनको तयारी थालेको छ। प्रसाईँले माघ १६ गते (शुक्रबार) सिराहाको लहानमा भेला हुन आह्वान गर्दै आन्दोलनलाई निर्णायक मोडमा पुर्याउने संकेत गरेका छन्। उनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्यको घोषणा र संघीयता खारेजीको मागसहित समर्थकहरूलाई सहभागी हुन आग्रह गरेका हुन्।
चिकित्सा व्यवसायीसमेत रहेका प्रसाईँले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन कुनै पनि हालतमा नहुने दाबी दोहोर्याएका छन्। सरकार र दलहरूलाई खुला चुनौती दिँदै उनले भनेका छन्, “दुर्गा प्रसाईँ एउटा शक्ति हो, राजासँग जोडिएको शक्ति। यो चानचुने शक्ति होइन। यो शक्तिलाई बाहिर राखेर चुनाव गराएर देखाऊन्, जबर्जस्ती थुनेर चुनाव गराइयो भने पनि यहाँ ६ महिनामा के हुन्छ, सबैले देख्नेछन्।”
सरकारसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको आरोप लगाउँदै प्रसाईँले आन्दोलन थप चर्किने चेतावनी पनि दिएका छन्। “सरकारले १५ दिनभित्र कार्यान्वयन गर्छु भनेको हो, आज १३ दिन बितिसक्यो, अब दुई दिन बाँकी छन्,” उनले भने, “यदि कार्यान्वयन भएन भने देशव्यापी ठूलो आन्दोलन हुन्छ।”
दलहरू निर्वाचनको तयारीमा जुटिरहेका बेला प्रसाईँ र उनको समूहको यो आक्रामक अभिव्यक्तिले आगामी दिनमा चुनावी वातावरण थप तनावग्रस्त बन्न सक्ने संकेत देखिएको छ।




