देश

विगतका गल्ती सच्याउन मधेश आएका हौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताएका छन्।

बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले मधेशले कांग्रेसलाई जन्म दिएको, हुर्काएको र बलियो बनाएको बताएका हुन्। मधेशकै धर्तीबाट कांग्रेसको राजनीतिक यात्रा अघि बढेको उनको भनाइ थियो।

मधेश कांग्रेसको जन्मभूमि भएको उल्लेख गर्दै थापाले विगतमा भएका कमजोरी र गल्ती सच्याउने संकल्पसहित आफू मधेश आएको बताए। उनले कांग्रेसले अतीतमा गरेका कमजोरी स्वीकार गर्दै ती सुधार गर्न अब ढिला गर्न नहुने धारणा राखे।

अरू दलले के गरे भन्ने विषयभन्दा कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिँदै उनले मधेशको सम्मान र अधिकारको सवालमा कांग्रेस अझ जिम्मेवार बन्नुपर्ने बताए। मधेशका मुद्दामा विभिन्न नयाँ दल आए पनि कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी बिर्सन नहुने उनको भनाइ थियो।

सभापति थापाले कांग्रेसले सभापतिलाई नै मधेशबाट उम्मेदवार बनाएर अघि बढेकाले सर्लाहीका चारवटै क्षेत्रसँगै मधेशका ३२ निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारले साथ र सहयोगको अपेक्षा गरेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *