काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको वर्तमान राजनीतिक संकट अस्थायी भएको बताएका छन्। हठात् रूपमा पार्टी नियन्त्रण बाहिर गएको जस्तो देखिए पनि यो अवस्था सधैँ नटिक्ने उनको भनाइ छ। उनले कार्यकर्ता तथा समर्थकलाई केही समय धैर्य गर्न आग्रह गरेका छन्।
पत्नी डा. आरजु देउवा राणाको ६३ औँ जन्मदिनका अवसरमा महाराजगन्जस्थित निवासमा पुगेका सीमित नेता–कार्यकर्तासँग देउवाले अहिलेको परिस्थिति कठिन भए पनि समयसँगै परिवर्तन हुने विश्वास व्यक्त गरेका हुन्। उनले “अहिले जस्तो देखिए पनि यो अवस्था सधैँ रहँदैन” भन्दै चुनावपछिको राजनीतिक परिस्थितिमा पुनः मूल्यांकन हुने संकेत गरेका छन्।
सो भेटघाटमा सहभागी एक तरुण दलका नेताका अनुसार देउवा आफैँ पनि यसरी भित्रभित्रै सबै ‘सेटिङ’ मिलाएर पार्टी कब्जा गर्ने अवस्था आउला भन्ने अनुमानमा थिएनन्। अचानक टिकट वितरण प्रक्रियामा देखिएको हतारोले चुनावअघि कुनै निर्णायक कदम चाल्न नसकिएको देउवाको बुझाइ रहेको ती नेताले बताए। देउवाले “अहिले यस्तै भयो, तर यो समय सधैँ यस्तै रहँदैन, चुनावपछि हेरौँला” भन्ने सन्देश दिएको उनको भनाइ छ। देउवा अन्तिम पटक डडेलधुराबाट चुनाव लड्न इच्छुक थिए भने डा. आरजु देउवा पनि कैलाली–५ बाट उम्मेदवार बन्ने तयारीमा थिइन्। तर सभापति गगन थापाको नेतृत्वमा भएको टिकट वितरणमा दुवैलाई अवसर नदिइएपछि उनीहरू चुनावी प्रक्रियाबाट बाहिरिएका छन्।
पार्टी फुट्नु हुँदैन भन्ने मान्यताका कारण देउवाले पछिल्ला घटनाक्रममा सार्वजनिक प्रतिक्रिया नदिई संयम अपनाएको उनीसँग निकट नेताहरू बताउँछन्। जन्मदिनका अवसरमा सीमित नेता–कार्यकर्ता देउवा निवास पुगेका थिए, जहाँ देउवाले केक काटेर पत्नीलाई शुभकामना दिएका थिए।
देउवा पक्ष विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भए पनि छिट्टै नियमित महाधिवेशन हुनैपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूको रणनीति नियमित महाधिवेशनमै सबै राजनीतिक हिसाबकिताब गर्ने रहेको बताइन्छ। पार्टीका अधिकांश वरिष्ठ नेताहरूलाई बाहिर राखेर कांग्रेस सञ्चालन गर्न नसकिने दाबी कांग्रेस संस्थापन पक्षको छ।
कांग्रेस संस्थापन तथा देउवा निकटका नेताहरूका अनुसार सभापति पद गुमे पनि देउवामा प्रतिशोधको भावना देखिँदैन, तर घटनाक्रमले दिएको राजनीतिक चोट भने गहिरो छ। उनीहरू पार्टीभित्रको असन्तुष्टि फुटको बाटोबाट होइन, नियमित महाधिवेशनमा बहुमत जुटाएर समाधान गर्नुपर्ने निष्कर्षमा पुगेका छन्।
टिकट वितरणपछि देउवानिकट थुप्रै वरिष्ठ नेताहरू उम्मेदवार बनेकाले फागुन २१ अघि कांग्रेसभित्र ठूला राजनीतिक हलचल नदेखिने आँकलन पनि उनीहरूको छ। वर्तमान संकटलाई ‘समयको परीक्षा’ ठान्दै देउवाले आफ्ना समर्थकलाई धैर्य र संयमताका साथ प्रतिक्षा गर्न आग्रह गरेका छन्। सोमवार भेटेका एक नेताले भने,‘शेरबहादुर दाइमा बदलाभाव त देखिँदैन तर उहाँको मुहारमा गहिरो चोट पढ्न सकिन्छ । जेनजी आन्दोलनका बेला उहाँको परिवारमाथि माथि भएको भौतिक आक्रमणको चोट बरु निको हुँदैछ तर उहाँले भन्ने गरेका भाइहरू (गगन र विश्वप्रकाश) ले दिएको चोट निकै गहिरो छ ।’
केही नेताले टिकटका लागि आत्मसमर्पण गरेको आरोप लागे पनि देउवाले नै ज–जसले टिकट पाउँछौ चुनाव लड्न जाऊ भनेर अनुमति दिएको समेत खुलेको छ । डा.प्रकाश शरण महत, किशोरसिंह राठौर, विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, बिमलेन्द्र निधी, महेन्द्र यादव, सुशीला थिङ, शंकर भण्डारी, नैनसिंह महर, एनपी साउदजस्ता देउवानिकट नेता टिकट लिएर चुनावी मैदानमा गएकाले पनि फागुन २१ अघि कांग्रेसमा कुनै घटनाक्रम नहुने नेताहरू बताउँछन् । विशेष महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण गरेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा धेरैजसो पुराना हेभीवेट नेताहरूलाई उम्मेदवार बनाएन। पार्टीबाट टिकट नपाउने हेभीवेट नेतामा सबभन्दा अगाडि पूर्वसभापति शेरबहादुर देउवाकै नाम आउँछ। उनले अन्तिम समयसम्म प्रयास गर्दा पनि टिकट पाएनन्। ३४ वर्षदेखि देउवाको एकछत्र चुनाव क्षेत्र रहेको डडेल्धुरामा यसपालि नैनसिंह महरले टिकट पाएका छन्।
गगन थापाले सभापति देउवालाई बारम्बार शक्तिविहीन बनाउने रणनीति विगतदेखि नै गरेका थिए । जेनजी आन्दोलनमा परेर घाइते हुँदा समेत गगन थापाले सभापति देउवामाथि ताली पिटे । त्यसपछि विवादमा परेका थिए थापा । उनको चौतर्फी आलोचना समेत हुने गरेको थियो । सभापति देउवालाई सार्वजनिक ठाउँमा बोल्न रोक्नै लगाएका थिए थापाले ,जब देउवा बोल्थे अनि थापाको देउवाको विरुद्धमा बोलेका समाचारहरु संचारमाध्यममा सार्वजनिक हुन्थे । जेनजीको हिंशात्मक आक्रमणमा परेर जिवन र मृत्युको दोसाधबाट नयाँ जिवन पाएका देउवालाई अर्को चोट गगन थापाले दिए । उनले निर्वाचनमा टिकट बांडन आफूले पाउनुपर्छ भन्दै नियमित महाधिवेशनको सट्टा एकपक्षीय भेला गरेर विशेष महाधिवेशन गरेर निर्वाचित भए ।
सो विषयमा कांग्रेस संस्थापन पक्षले विरोध जनाएपछि निर्वाचन आयोगले मान्यता दिएपछि विद्रोह गरेर सभापति बने थापा । सभापति देउवाले नियमित महाधिवेशन पौषको अन्तिम साता गर्नुपर्ने बताएपछि कांग्रेस केन्द्रिय समितिले सो निर्णय पारित गरेको थियो । तर थापाले महामन्त्रीको हैसियतमा रहेर जिम्मेवारी बहन गर्न नसक्दा सो मितिमा नियमित महाधिवेशन हुन सकेन्,विशेष महाधिवेशन भनेर एक कोहोरो लाग्ने थापाले कांग्रेसको क्रियासिल सदस्या नविकरण र वितरण गर्न सकेनन्,उल्टै फर्जी सिरियल नम्बर नभएका चार लाख बढि फर्म वितरणमा पाठाएका थिए । त्यसमा पनि थापा विवादमा परेका थिए ।
थापाले किन बारम्बार विशेष महाधिवेशनलाई ध्यान दिए भन्ने विषय अहिले बुझिएको छ । थापाको दाउ सभापतिलाई सडकमा पु¥याउने र पार्टी कब्जा गरेर एकतन्त्रीय शासन चलाउने रहेछ । टिकट वितरणमा आफूले हस्ताक्षर गर्ने भन्नुको कारण सोही अनुसार कार्य गर्न तल्लीन हुनुले पनि पुष्टि गरिसकेको छ ।
अवैधानिक बाटोबाट सभापति बनेपछि विशेष महाधिवेशनबाट बनेको सभापति र गैरजिम्मेवारीको विषयमा पार्टीले थापा,शर्मा र अर्का एक सहमहामन्त्रीलाई कारबाही गरिसकेको छ । अहिले सभापति थापा बनेको विषय र विशेषमहाधिवेशनबारे निर्वाचन आयोगको मान्यतापछि सर्वोच्चमा कांग्रेस संस्थापनले मुद्धा दायर गरिसकेको छ । सर्वोच्चले कांग्रेस संस्थापनपक्षलाई मान्यता दिने संभावना बलियो छ ।




