काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गरेकी छन् ।
त्यस्तै, राष्ट्रियसभा सदस्य गंगाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको बताइन् ।
अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतंक बढ्दै गएको बताए ।
सांसद तुलसाकुमारी दाहालले सर्लाहीमा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताइन् ।
सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पका पीडितले अझै पर्याप्त राहत नपाएका गुनासो गरे । पुनर्निर्माणका सम्पन्न नहुँदा भूकम्पपीडितको जीवन कष्टकर भएको उनले बताए ।
सांसद शारदादेवी भट्टले मदिरापान गरी सवारीसाधन चलाउने तथा सवारी नियम उल्लंघन गर्नेलाई कठोर सजाय हुनुपर्ने बताइन् ।




