देश

आचारसंहिता उल्लङ्घनको आरोपमा बालेन, हर्क, महेशसहित ५ उम्मेदवार र दुई संस्थामाथि आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले पाँच जना उम्मेदवार र दुई सङ्घसंस्थासँग स्पष्टीकरण माग गरेको छ । आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार सामाजिक सञ्जाल अभिव्यक्ति, चुनावी प्रचारशैली र मर्यादाविपरीत टिप्पणीका विषयमा उनीहरूलाई लिखित जवाफ पेश गर्न निर्देशन दिइएको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहलाई सामाजिक सञ्जालमा दिएको टिप्पणीका कारण स्पष्टीकरण सोधिएको छ । उनले सोही क्षेत्रका अर्का उम्मेदवार केपी शर्मा ओलीको पोस्टमा टिप्पणी गर्दै ‘हत्यारा’ भन्ने शब्द प्रयोग गरेको आरोप छ ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण माग गरेको छ । उनले जेन–जी आन्दोलनसँग जोडिएको जुत्तालाई चुनाव चिन्हका रूपमा प्रचार गरेको भन्दै आचारसंहिता उल्लङ्घन भएको आयोगको ठहर छ ।

यसैगरी, सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरेको आरोप लागेको छ । बालबालिकालाई टिसर्ट लगाएर प्रचारमा सहभागी गराएको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई पनि मर्यादाविपरीत अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण माग गरिएको छ । उनले रास्वपा उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेर टिप्पणी गरेको आयोगको भनाइ छ । सोही क्षेत्रकी अर्की उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई पनि उम्मेदवारमाथि घृणाजन्य अभिव्यक्ति प्रयोग गरेको, ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

उम्मेदवारसँगै निर्वाचन आयोगले दुई सङ्घसंस्थालाई पनि स्पष्टीकरण माग गरेको जनाएको छ । अनुमति नलिई आचारसंहिता लागू भइसकेपछि अधिवेशन गरेको भन्दै स्वास्थ्य स्वयंसेवक सङ्घलाई सोधपुछ गरिएको छ भने शिक्षक सरुवासम्बन्धी विषयमा अर्को एक स्पष्टीकरण जारी गरिएको आयोगले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *