काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नम्बर ४ फेरि एकपटक राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा आएको छ। तर यो चर्चा विकासका मुद्दा, नीतिगत बहस वा दीर्घकालीन दृष्टिकोणका कारण होइन, बरु ‘हेभिवेट’ बनाम ‘स्थानीय विद्रोही’को टकरावका कारण हो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र अघिल्लो निर्वाचनका विजेता अमरेश कुमार सिंहबीचको भिडन्तले सर्लाही–४ लाई प्रतिष्ठाको रणभूमिमा रूपान्तरण गरिदिएको छ।
२०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेश सिंह सर्लाही–४ का मतदाताले केन्द्रको दलगत राजनीतिलाई दिएको स्पष्ट सन्देश थिए। त्यो सन्देश थियो– “नाम, पद र गठबन्धन होइन, आफ्नोपन र प्रतिरोध चाहिन्छ।” तर त्यो सन्देशबाट पाठ सिक्नुको साटो कांग्रेसले यसपटक पार्टी सभापति स्वयंलाई मैदानमा उतारेर राजनीतिक शक्तिको प्रदर्शन गर्न खोजेको देखिन्छ। प्रश्न उठ्छ– के गगन थापाको उम्मेदवारी आत्मविश्वास हो, कि अघिल्लो पराजयको बदला ?
अमरेश सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। दल फेरिए पनि उनको राजनीतिक चरित्र उस्तै छ– केन्द्रीय सत्ता, पार्टी अनुशासन र ‘हाई कमाण्ड’ राजनीति प्रति विद्रोही। यही विद्रोही छविले उनलाई सर्लाही–४ मा बलियो बनाएको छ। अर्कोतर्फ, गगन थापा कांग्रेसभित्र सुधार र रूपान्तरणको भाषण गर्ने नेता भए पनि सर्लाहीका ग्रामीण मधेसी मतदाताका लागि उनी अझै ‘काठमाडौं केन्द्रित नेता’कै रूपमा बुझिन्छन्।
यो निर्वाचन क्षेत्रमा एमाले, जसपा, जनमत पार्टी, नेकपा लगायतका उम्मेदवारको उपस्थिति भए पनि वास्तविक प्रतिस्पर्धा थापा र सिंहबीचमै सीमित देखिन्छ। मधेसी मतदाताको बाहुल्यता रहेको यो क्षेत्रमा पहिचान, स्थानीय सरोकार र विगतको व्यवहार निर्णायक हुने गर्छ। यहाँ ठूला भाषणभन्दा पनि ‘को हाम्रो हो’ भन्ने प्रश्न भारी पर्छ।
सर्लाही–४ मा कुल १ लाख २१ हजार १२ मतदाता छन्, जुन कुनै एक दलको संगठित मतले मात्र जित निकाल्न सक्ने अवस्था होइन। बरहथवा, गोडैटा, धनकौल, बलरा, बसबरीया, रामनगर र विष्णु गाउँपालिकासम्म फैलिएको यो क्षेत्र सामाजिक, जातीय र राजनीतिक रूपमा अत्यन्तै विविध छ। यही विविधता नै गगन थापाका लागि चुनौती हो। पार्टी सभापतिको हैसियतले उनीसँग संगठन, स्रोत र प्रचारको बल छ, तर स्थानीय अपनत्वको अभावले त्यो बल कमजोर पर्न सक्ने भन्ने विश्लेषण भइरहेको छ । तर आज गगन थापाको के्रज हेर्दा स्वत उनले निर्वाचनमा विजयी हासिल गर्न सक्ने संभावना रहेको पनि अर्को कोणबाट विश्लेषण हुन थालेको छ ।
अर्कोतर्फ, अमरेश सिंहसँग सत्ताको पहुँच छैन, तर उनीसँग ‘हिजो पनि हामीसँग थिए, आज पनि’ भन्ने भावनात्मक पूँजी छ। अघिल्लो निर्वाचनको परिणामले देखाइसकेको छ कि सर्लाही–४ का मतदाता परम्परागत दल र ठूला नेताको दबाबमा सजिलै झुक्ने खालका छैनन्।
यसैले, सर्लाही–४ को चुनाव केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा होइन, यो दुई राजनीतिक सोचबीचको टकराव हो—एकातिर केन्द्रीय नेतृत्व र दलगत शक्तिको राजनीति, अर्कोतिर स्थानीय असन्तोष र विद्रोही चेतना। यस्तो अवस्थामा गगन थापाले बाजी मार्लान् कि अमरेश सिंह फेरि इतिहास दोहोर्यालान् भन्ने प्रश्नको उत्तर संगठन र प्रचारभन्दा बढी मतदाताको मनोविज्ञानले दिनेछ।
एक कुरा भने निश्चित छ—यदि गगन थापा यहाँ पराजित भए, त्यसको असर सर्लाही–४ मा मात्र सीमित रहने छैन। त्यो पराजय कांग्रेस नेतृत्व र थापाको राष्ट्रिय राजनीतिक भविष्यका लागि गम्भीर राजनीतिक सन्देश बन्न सक्छ।
कुन वडामा कति मतदाता ?
बरहथवा नगरपालिका
वडा नम्बर १– ३,४४७
वडा नम्बर २– २,८९५
वडा नम्बर ३– ३,३९३
वडा नम्बर ४– १,१७८
वडा नम्बर १३– २,३३२
वडा नम्बर १४– २,२०२
वडा नम्बर १५– २,४०५
गोडैटा नगरपालिका
वडा नम्बर १– १,२५२
वडा नम्बर २– ३,६२६
वडा नम्बर ३– २,८३४
वडा नम्बर ४– १,८५५
वडा नम्बर ५– ३,४१४
वडा नम्बर ६– २,०९६
वडा नम्बर ७– २,१५१
वडा नम्बर ८– २,२८१
वडा नम्बर ९– २,०७०
वडा नम्बर १०– ३,०१२
वडा नम्बर ११– ३,४७६
वडा नम्बर १२– २,५२३
धनकौल गाउँपालिका
वडा नम्बर १– २,९२३
वडा नम्बर २– २,३१६
वडा नम्बर ३– १,८५३
वडा नम्बर ४– २,१५१
वडा नम्बर ५– १,७०८
वडा नम्बर ६– १,४९६
वडा नम्बर ७– २,२५६
बलरा नगरपालिका
वडा नम्बर १– २,०२८
वडा नम्बर २– २,५६८
वडा नम्बर ३– १,८६१
वडा नम्बर ४– २,४४१
वडा नम्बर ५– २,३४०
वडा नम्बर ६– २,४३१
वडा नम्बर ७– २,८५८
वडा नम्बर ८– २,५२२
वडा नम्बर ९– २,३०२
वडा नम्बर १०– २,८२०
वडा नम्बर ११– १,९८५
बसबरीया गाउँपालिका
वडा नम्बर १– २,९१९
वडा नम्बर २– २,४४९
वडा नम्बर ३– २,४०५
रामनगर गाउँपालिका
वडा नम्बर १– ४,०१०
वडा नम्बर २– २,७८२
वडा नम्बर ३– १,५९३
वडा नम्बर ४– २,६३८
वडा नम्बर ५– १,४९२
वडा नम्बर ६– २,६४१
वडा नम्बर ७– १,९५६
विष्णु गाउँपालिका
वडा नम्बर १– १,६२०
वडा नम्बर २– १,५३८
वडा नम्बर ३– २,०८६
वडा नम्बर ४– १,५८२




