राजनीति

झापा–५ मा चुनावी बहसको प्रस्ताव, ओली र बालेनलाई खुला सार्वजनिक बहसका लागि औपचारिक आह्वान

काठमाडौं । झापा–५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दिएका रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहलाई खुला सार्वजनिक बहसका लागि औपचारिक आह्वान गरेका छन्। कमल गाउँपालिकामा आयोजित नेकपाको स्थानीय भेलालाई सम्बोधन गर्दै तामाङले आफू जनताको सवालमा दुवै नेतासँग प्रत्यक्ष बहस गर्न तयार रहेको स्पष्ट पारे। उनका अनुसार अब चुनावी प्रचार भाषण र नारामा सीमित नभई जनप्रतिनिधि बन्न चाहनेहरू जनताको कठघरामा उभिएर प्रश्न–उत्तर गर्नुपर्ने समय आएको छ।

“समय धेरै अघि बढिसक्यो, तर चुनाव लड्ने शैली अझै पुरानै छ,” तामाङले भने, “नयाँ सोच र नयाँ राजनीति भन्नेहरूले जनता र सञ्चारमाध्यमको सामना गर्न किन डराइरहेका छन्, यो गम्भीर प्रश्न हो।” उनले जनताको प्रतिनिधि बन्न चाहने उम्मेदवारले आफ्ना योजना, दृष्टिकोण र प्रतिबद्धता सार्वजनिक रूपमा राख्नुपर्नेमा जोड दिए। जनतासँग प्रत्यक्ष संवाद र बहसमार्फत नै सही मूल्याङ्कन सम्भव हुने भन्दै तामाङले खुला बहस लोकतान्त्रिक अभ्यासको अनिवार्य अङ्ग भएको उल्लेख गरे।

तामाङको यो प्रस्तावले झापा–५ को चुनावी प्रतिस्पर्धामा बहस र संवादको विषयलाई केन्द्रमा ल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *