काठमाडौं । राष्ट्रिय सभाका रिक्त पदका लागि सम्पन्न निर्वाचनले माथिल्लो सदनको शक्ति सन्तुलन फेरिएको छ। आइतबार भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएसँगै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये एक पद मनोनीत र एक निर्विरोध भइसकेकाले बाँकी १७ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको थियो भने नेपाली कम्युनिस्ट पार्टी (नेपपा) एक्लै मैदानमा उत्रिएको थियो। नतिजाअनुसार गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन्। सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल १ हजार ५०६ जना स्थानीय तहका पदाधिकारी मतदाताको भूमिका रहेको थियो। नवनिर्वाचित सदस्यहरूको कार्यकाल फागुन २१ गतेबाट सुरु हुनेछ।
प्रदेशगत रूपमा कोशीबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भए। मधेश प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर तथा एमालेकी रेखाकुमारी झा निर्वाचित भएका छन्। बागमतीमा कांग्रेसकी गीता देवकोटा र प्रेमप्रसाद दंगाल, गण्डकीमा एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना निर्वाचित भए।
लुम्बिनी प्रदेशबाट कांग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेकी रामकुमारी झाक्री विजयी भए। कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेका मीनासिंह रखाल तथा सुदूरपश्चिमबाट एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले अघि सारेको सहकार्य र तालमेलको रणनीतिले कांग्रेसलाई राष्ट्रिय सभामा निर्णायक शक्तिका रूपमा उभ्याएको विश्लेषण गरिएको छ। गठबन्धनअन्तर्गत १७ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ सिट जितेका छन्।
यस निर्वाचनसँगै आठ सिट गुमाएको नेपपा दोस्रो शक्तिमा झरेको छ भने एमाले तेस्रो स्थानमा सीमित भएको छ। हाल कांग्रेसका कुनै पनि राष्ट्रिय सभा सदस्यको पद रिक्त नभएकाले यसपटक थपिएका ९ सिटसहित कांग्रेस २५ सदस्यसहित राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ।




