काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग अत्यन्तै जिम्मेवार र मर्यादित ढंगले गर्न पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ। कांग्रेस केन्द्रीय कार्यालयले आइतबार प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पाँचबुँदे परिपत्र पठाउँदै राष्ट्रिय झण्डाको प्रयोग कानुन, आचारसंहिता र राष्ट्रिय सम्मानअनुकूल हुनुपर्ने स्पष्ट पारेको हो। उक्त निर्देशन कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माको हस्ताक्षरसहित जारी गरिएको हो।
परिपत्रमा निर्वाचन ऐन र निर्वाचन आचारसंहिताले तोकेको सीमाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग नगर्न ध्यानाकर्षण गराइएको छ। आचारसंहिता अनुसार चुनावी प्रचारमा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। कांग्रेसले उम्मेदवार वा प्रचारकले पाखुरा, कम्मर, घाँटी वा शरीरमा मफलर वा ज्याकेटझैँ बनाएर राष्ट्रिय झण्डा ओढ्ने वा बेर्ने कार्यलाई झण्डाको अपमानका रूपमा व्याख्या गरेको छ। यस्ता गतिविधि नगर्न र हुन नदिन सबै समितिलाई कडाइका साथ निर्देशन दिइएको छ।
“कुनै पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता मात्र होइन, राष्ट्रिय सम्मान र संस्कारका दृष्टिले पनि गलत हो,” परिपत्रमा भनिएको छ।कांग्रेसले राष्ट्रिय झण्डा सबै नेपालीको साझा गौरवको प्रतीक भएकाले यसको प्रयोगमा उच्च सम्मान, सचेतना र अनुशासन अनिवार्य रहेको स्मरण गराउँदै सबै पार्टी संरचनालाई जिम्मेवार बन्न आग्रह गरेको छ।






