देश

स्थानीय तह र जिससलाई निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गराउन देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई औपचारिक रूपमा निर्देशन दिएको छ।

मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पठाएको पत्रमा निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता सम्बन्धित क्षेत्रभित्र कडाइका साथ लागू गराउन आग्रह गरिएको उल्लेख छ। मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो कार्यक्षेत्रमा आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्नुपर्ने स्पष्ट गरिएको छ।

सरकारले यसअघि २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरिसकेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नगरेसम्म उक्त आचारसंहिता लागू रहने जनाएको छ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आवश्यक जानकारी तथा कार्यान्वयनका लागि भन्दै सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई सचेत गराउँदै आचारसंहिताका प्रावधानहरू पालना गराउन ध्यानाकर्षण गराएको छ। निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ तथा दफा ५५ का व्यवस्था समेटिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *