काठमाडौं । नेपाली कांग्रेसभित्र हालै सम्पन्न भनिएको ‘विशेष महाधिवेशन’ प्रक्रियाप्रति पार्टीकै महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गम्भीर प्रश्न उठाएका छन्। उनले उक्त प्रक्रिया अवैधानिक, अपारदर्शी र पार्टी विधानविपरीत रहेको दाबी गर्दै त्यसबाट बनेको नेतृत्व संरचना अस्वीकार्य भएको स्पष्ट पारेका छन्।
शेर्पाका अनुसार विशेष महाधिवेशनको आवरणमा सीमित व्यक्तिहरूले पार्टी संरचना कब्जा गरी उम्मेदवार छनोट गरिएको छ, जुन लोकतान्त्रिक अभ्यासको ठाडो उल्लङ्घन हो। यस्तो अवस्थामा सच्चा कांग्रेसजनले त्यस्ता उम्मेदवारको पक्षमा भोट माग्नुपर्ने कुनै नैतिक वा राजनीतिक बाध्यता नरहेको उनको भनाइ छ।
“विशेष महाधिवेशनका नाममा पार्टी हत्याउने प्रवृत्ति खतरनाक उदाहरण हो,” शेर्पाले चेतावनी दिँदै भने, “आज यो गलत अभ्यासलाई स्वीकार गरियो भने भोलि अरूले पनि यही बाटो पछ्याउनेछन्, जसले पार्टीलाई अराजकता र अन्यायको दिशामा लैजान्छ।” उनले विशेष महाधिवेशनमा भौतिक रूपमा जम्मा १ हजार ३ सय ३७ जना मात्र उपस्थित रहेको दाबी गर्दै यति सीमित उपस्थितिले सम्पूर्ण पार्टी नेतृत्व परिवर्तन गर्ने अधिकार नपुग्ने जिकिर गरे। “कसले, कसरी र कुन आधारमा अधिकार प्राप्त गर्यो भन्ने कुरा नै शंकास्पद छ,” उनले भने, “म यस विषयमा प्रमाणसहित बोल्न सक्छु।”
शेर्पाले निर्वाचन आयोगले समेत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर विधिवत् रूपमा प्रमाणीकरण नगरी मान्यता दिएको आरोप लगाएका छन्। उनका अनुसार यस्तो प्रक्रिया न पार्टी विधानअनुसार छ, न लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल खान्छ। उनले कांग्रेस नेतृत्वलाई प्रश्न गर्दै भने, “केन्द्रीय समितिले नबोलाएको विशेष महाधिवेशन दुई जना महामन्त्रीले बोलाउन पाउने व्यवस्था कांग्रेस विधानको कुन धारामा छ रु यदि छ भने सार्वजनिक रूपमा देखाइयोस्।”
शेर्पाले अवैधानिक प्रक्रियाबाट बनेको समितिले बाँडेको टिकटबाट उम्मेदवार बनेकाहरूलाई समेत नैतिक रूपमा अवैध ठहर गर्दै त्यसप्रति समर्थन जनाउन नसकिने बताएका छन्। “हाम्रो संघर्ष व्यक्ति लक्षित होइन,” उनले स्पष्ट पारे, “यो गलत प्रवृत्ति र विधिविपरीत निर्णयको विरोध हो।”
उनका अनुसार पार्टीका संस्थापकहरूको आदर्श, संविधान र विधानप्रति निष्ठावान् रहने नेताहरूले यस्तो प्रक्रियाबाट आएको टिकट लिनु नै हुँदैन थियो। महाधिवेशन गराएर पनि चुनाव नलड्ने नेताहरूले पार्टीप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोपसमेत उनले लगाए।
अन्त्यमा शेर्पाले कांग्रेसजनलाई सचेत रहन आह्वान गर्दै भने, “यो आवाज पार्टी बिगार्न होइन, पार्टी जोगाउनका लागि हो। गलतलाई अस्वीकार गरौँ—कांग्रेस जोगाऔँ।”




