राजनीति

रास्वपाभित्र असन्तुष्टि, बालेन बाहिरिने संकेत

काठमाडौं । ‘सिस्टमविरुद्ध’ र ‘साधारण जनताको पक्ष’ भन्ने नाराबाट उदाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चुनावी अभियान अहिले आफ्नै दाबीको ठाडो विरोधाभासमा उभिएको छ। झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका बालेनको गतिविधिले न वैकल्पिक राजनीति झल्काउँछ, न पारदर्शिता—बरु पुरानै शक्ति, पैसा र पहुँचको घेराभित्र उनी प्रवेश गरिसकेको स्पष्ट संकेत देखिन थालेको छ।

पूर्वी पहाडको धार्मिक यात्रा भन्दै इलाम, पाँचथर हुँदै पाथीभरा पुगेका बालेनको ‘साधारण’ छवि उनी चढेको गाडीमै चकनाचुर भएको छ। स्रोतका अनुसार उनले प्रयोग गरिरहेको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर (टप भेरियन्ट) को मूल्य न्यूनतम दुई करोडदेखि आठ करोड रुपैयाँसम्म पर्छ। अझ गम्भीर पक्ष—उक्त गाडी करेन्ट चाउचाउ उत्पादक कम्पनीका मालिक कमल किशोर मालपानीका छोरा नितेश मालपानीको नाममा दर्ता रहेको बताइन्छ।

यही बिन्दुबाट प्रश्न उठ्छ—पूँजीवादी गठजोड, राज्य–व्यवसायी साँठगाँठ र भ्रष्ट प्रणालीको विरोध गर्दै आएका बालेन स्वयं विवादित व्यापारीको गाडी चढेर चुनावी प्रचारमा निस्कनु कति नैतिक हो?

महँगो गाडी मात्र होइन, विलासी जीवनशैली पनि प्रश्नको घेरामा

बालेनको आलोचना गाडीमा मात्र सीमित छैन। सामाजिक सञ्जालमा उनको पहिरनसमेत आलोचनाको विषय बनेको छ। ‘गरिबको पीडा’ गीत र र्‍यापमार्फत प्रस्तुत गर्ने कलाकारको पहिचान बनाएका बालेनले प्रयोग गरेको एडिडास टेरेक्स ज्याकेटको मूल्य करिब ३५ हजार रुपैयाँ पर्ने उल्लेख छ। जनताको दुःख र अभावलाई राजनीतिक नारामा सीमित राखेर आफैं विलासितामा रमाउनु दोहोरो चरित्रको उदाहरण भएको टिप्पणी व्यापक छ।

विवादित व्यापारी र ‘सेटिङ मास्टर’ सँगको नजिकिँदो सम्बन्ध

यस प्रकरणको सबैभन्दा गम्भीर पाटो भने बालेनको नाम विवादित व्यापारी कमल किशोर मालपानी र ‘सेटिङ मास्टर’ भनेर चिनिने दीपक भट्टसँग जोडिनु हो। करेन्ट चाउचाउ र करेन्ट गुट्खा उत्पादक मालपानी राजस्व छली, सुपारी तस्करी, श्रम शोषण र नागरिकता विवादका कारण लामो समयदेखि विवादमा छन्। भारतीय नागरिकका छोरा मालपानीले वंशजका आधारमा लिएको नेपाली नागरिकतामै गम्भीर प्रश्न उठिसकेको छ।

यस्ता व्यक्तिसँग जोडिएको गाडी प्रयोग गर्नु सामान्य संयोग हो कि राजनीतिक–आर्थिक साँठगाँठको सुरुआतरु अझ भट्टजस्ता व्यक्तिसँगको नजिकिँदो सम्बन्धले प्रश्न झनै गहिरो बनाएको छ। भट्ट सम्पत्ति शुद्धीकरण, शंकास्पद बैंक कारोबार, जलविद्युत् ठेक्कामा चलखेल र सत्ताको दुरुपयोगका आरोपमा चर्चित पात्र हुन्। कांग्रेस, एमाले र माओवादी शासनकाल हुँदै बिचौलियाको भूमिकाबाट ‘भ्रष्टाचारको साम्राज्य’ खडा गरेको आरोप खेप्दै आएका भट्ट अहिले बालेन समूहमा खुलेर देखिन थालेका छन्। स्रोतका अनुसार उनी बालेनमार्फत रास्वपासँग समेत नजिकिँदै छन्।

रास्वपाभित्र असन्तुष्टि, बालेन बाहिरिने संकेत

यही गतिविधिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि बढ्दै गएको छ। पार्टीका नेता मनिष झाले खुलेर भनेका छन्, “बालेनले व्यापारी घरानाको गाडी चढ्नु गलत हो। राजनीतिकर्मीमा हुनुपर्ने संस्कृति उनीभित्र अझै जीवितै छ।” बालेनको ‘मनपरी’ चुनावी प्रचार, पार्टी संरचनाभन्दा बाहिर बसेर शक्ति प्रयोग गर्ने प्रयास र विवादित पात्रहरूसँगको नजिकिँदो सम्बन्धले रास्वपाबाट उनी क्रमशः टाढिँदै गएको संकेत देखिएको छ।

पार्टीको निर्देशन बेवास्ता गर्दै बालेन एकल यात्रामा, चुनावी प्रचारमै रास्वपाभित्र असन्तुष्टि चुलिँदै

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र झापा निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र साह (बालेन) को चुनावी गतिविधिलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। पार्टी नेतृत्वको सल्लाह र समन्वयबिनै उनी एकल ढंगले चुनावी प्रचारमा जुटेको भन्दै रास्वपाका शीर्ष तहमा असहजता देखिन थालेको हो।

रवि लामिछाने नेतृत्वको ‘घण्टी’ चुनाव चिह्नबाट उम्मेदवारी दिएका साह झापामा केन्द्रित हुनुपर्ने बेला पार्टीको पूर्व–पश्चिम रणनीतिलाई बेवास्ता गर्दै पश्चिम नेपालतर्फ लागेका छन्। उनी आज बिहान नेपालगञ्ज हुँदै धनगढीतर्फ प्रस्थान गरेका छन्। साह निकट स्रोतका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानमा भेटघाट तथा कार्यक्रम सकेर उनी धनगढीमा बास बस्ने कार्यक्रम छ।

निर्धारित तालिकाअनुसार साह नेपालगञ्ज विमानस्थलबाट सोझै कोहलपुर गोलपार्क पुग्ने, त्यसपछि बर्दियाको बाँसगढी, दिउँसो मैनापोखर हुँदै गुलरिया, कुसुम्बाघाट, मधुवन (सानोश्री) र राजापुर पुग्ने कार्यक्रम बनाइएको छ। झापामा उम्मेदवारी दर्ता गरेपछि उनी ताप्लेजुङको पाथीभरा हुँदै तेह्रथुम, धनकुटा र सुनसरी घुमेर केही दिनअघि मात्र काठमाडौँ फर्किएका थिए।

पार्टी कार्यालयभन्दा निजी सम्पर्क केन्द्र प्राथमिकतामा

निर्वाचनको संवेदनशील समयमा पनि साह पार्टीको केन्द्रीय कार्यालयभन्दा आफ्नै निजी सम्पर्क सञ्जाललाई प्राथमिकता दिइरहेका छन्। हिजो दिनभर उनले ललितपुरको कोपुण्डोलस्थित कुमार बेनको घरमा बनाइएको सम्पर्क कार्यालयमै बसेर आफू निकट घण्टीका उम्मेदवारहरूसँग भेटघाट गरेका थिए। महानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिएपछि साहलाई रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा ‘वरिष्ठ नेता’ को कार्यकक्ष दिइएको भए पनि उनी त्यहाँ खासै नदेखिनु अर्थपूर्ण मानिएको छ। चुनावी अभियानकै बीच पार्टी कार्यालय नजाने र छुट्टै केन्द्र बनाएर नेता–कार्यकर्ता भेट्नुले बालेन पार्टी संरचनाभन्दा माथि आफूलाई राख्न खोजिरहेको सन्देश गएको पार्टीभित्र चर्चा छ।

महँगो गाडी विवादमा आक्रामक प्रतिक्रिया

चुनावी प्रचारका क्रममा बालेनले प्रयोग गरेको विवादास्पद व्यवसायीको महँगो गाडी विषयले पार्टीलाई थप अप्ठ्यारोमा पारेको छ। हिजो सम्पर्क कार्यालयबाट बाहिरिँदा केही युट्युबरले गाडीबारे प्रश्न गर्दा साहले “यही हो गाडी” भन्दै ठाडो र आक्रामक प्रतिक्रिया दिएका थिए। उनको उक्त व्यवहार सामाजिक सञ्जालमा तीव्र आलोचनाको विषय बनेको छ। यही विषयमा पार्टीकै प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँगको कुराकानीमा बालेनले व्यापारीको गाडी प्रयोग गर्नु अनुचित भएको स्पष्ट अभिव्यक्ति दिइसकेका छन्। तर साहले पार्टीको आलोचनालाई गम्भीरतापूर्वक लिएको संकेत भने देखिएको छैन।

एकल निर्णय र ‘स्टार’ राजनीतिप्रति बढ्दो प्रश्न

रास्वपाले संस्थागत राजनीति, सामूहिक निर्णय र अनुशासनलाई आफ्नो मूल पहिचान बताउँदै आए पनि बालेनको गतिविधिले सो दाबीमाथि प्रश्न उठेको छ। पार्टीको चुनावी रणनीति र क्षेत्रगत प्राथमिकता विपरीत उनको एकल यात्रा, पार्टी कार्यालयभन्दा निजी सम्पर्क केन्द्रमा सक्रियता र विवादास्पद व्यवहारले पार्टीभित्र ‘स्टार राजनीति’ हाबी हुन थालेको आशंका बढाएको छ।

झापा–५ मा कडा प्रतिस्पर्धा भइरहेका बेला उम्मेदवार स्वयं पार्टीको निर्देशनभन्दा बाहिर हिँड्नुले रास्वपाको सन्देश र अनुशासनमा नकारात्मक असर पर्ने नेताहरूको चिन्ता छ। चुनाव नजिकिँदै जाँदा बालेन र रास्वपाबीचको दूरी बढ्ने कि पार्टीले उनलाई नियन्त्रणमा ल्याउने—यो प्रश्न अहिले घण्टीभित्रकै सबैभन्दा पेचिलो विषय बनेको छ।

सार्वजनिक बहसबाट भाग्ने, सामाजिक सञ्जालमा मात्र आक्रोश

प्रधानमन्त्रीका सम्भावित दाबेदारबीच सार्वजनिक बहसको माग बढिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पब्लिक डिबेटका लागि चुनौती दिए। तर रास्वपाबाट प्रधानमन्त्रीको चर्चामा आएका बालेनले सो प्रस्ताव अस्वीकार गरे। सार्वजनिक बहस अस्वीकार गर्दै सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप गर्नु बालेनको राजनीतिक सीमालाई झनै उजागर गर्ने कदम बनेको छ।

जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट आक्रोश बढाउने तर हिंसा नियन्त्रणमा मौन बस्ने बालेनको भूमिका अझै विवादित छ। सिंहदरबार, सर्वोच्च अदालत र सरकारी संरचनामा आगजनी हुँदा पनि महानगर प्रमुखको हैसियतमा उनले न नगरप्रहरी परिचालन गरे, न दमकल पठाए—यो दोहोरो मापदण्डको स्पष्ट उदाहरण हो।

नाराभन्दा आचरण खोज्दै जनता

वैकल्पिक राजनीति नाराले होइन, आचरण र पारदर्शिताले प्रमाणित हुन्छ। महँगो गाडी, विलासी जीवनशैली, विवादित व्यापारीसँगको साँठगाँठ र सार्वजनिक बहसबाट पलायन—यी सबैले बालेनको राजनीतिक ब्रान्डलाई गम्भीर क्षति पुर्‍याएको छ। अब प्रश्न स्पष्ट छ—बालेन साँच्चै नयाँ राजनीति हुन्, कि पुरानै शक्ति संरचनाका नयाँ अनुहार मात्ररु यसको उत्तर गीत, स्टाटस र आक्रोशले होइन, स्पष्ट जवाफ र सार्वजनिक उत्तरदायित्वले मात्र दिन सकिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *