काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व विभागीय प्रमुख मिनबहादुर विश्वकर्माले भाद्र २३ र २४ गते भएका घटनाक्रमलाई ‘कहालीलाग्दो नाटक’को संज्ञा दिँदै त्यसको पृष्ठभूमि, नियत र पात्रहरूबारे गम्भीर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै विश्वकर्माले ती घटनाहरू आकस्मिक देखिए पनि क्रमशः योजनाबद्ध रहेको संकेत देखिन थालेको बताएका छन् । प्रसिद्ध साहित्यकार वालकृष्ण समको “नियमित आकस्मिकता” लाई स्मरण गर्दै उनले सुरुमा रहस्यमय लागेका घटनाहरू विस्तारै खुल्दै गएको दाबी गरेका छन् ।
उनका अनुसार भाद्र २३ गते सुशासनको माग गर्दै अवोध स्कुले बालबालिका काठमाडौंको माइतीघर मण्डलामा भेला हुनु सामान्य लागे पनि त्यसपछि देखिएका गतिविधिहरू अस्वाभाविक थिए । बालबालिकाको भीडमा ‘टीओबी’ लेखिएका टी–सर्ट लगाएका व्यक्तिहरू बुलेट बाइकमा प्रवेश गर्नु, निषेधित क्षेत्र संसद भवनतर्फ जुलुस जानु र त्यस दिन सुरक्षाका लागि राखिने बेरिगेट नदेखिनु घटनाका शंकास्पद कडी भएको उनको भनाइ छ ।
विश्वकर्माले विरोध प्रदर्शनकै क्रममा महानगरपालिकाका सवारीसाधन प्रयोग गरी पानी वितरण हुनु, संसद भवन तोडफोड गर्नेहरूभन्दा बाहिर रहेका कलिला बालबालिकामाथि गोली लाग्नु र उनीहरूको ज्यान जानुलाई गम्भीर प्रश्नको विषय बनाएका छन् ।
घटनापछि सामाजिक सञ्जालको बन्देज हटाइनु, गृहमन्त्रीको राजीनामा आउनु तर अवस्था नियन्त्रणमा नआउनु झनै अस्वाभाविक भएको उनको टिप्पणी छ । भाद्र २४ गते राजधानीमा कांग्रेस–एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि प्रहरी कार्यालय र निजी व्यवसायिक प्रतिष्ठानसम्ममा तोडफोड, आगजनी र लुटपाट हुनु राज्य संयन्त्रकै असफलता वा संलग्नताको संकेत भएको उनले बताएका छन् ।
उनले जेल तोडेर रास्वपाका नेता विजय जुलुससहित बाहिरिनु र हजारौँ कैदीबन्दी फरार रहनु गम्भीर राष्ट्रिय सुरक्षा चुनौती भएको उल्लेख गरेका छन् । यति ठूलो जनधनको क्षति हुँदा पनि कसैले जिम्मेवारी नलिनु तर आन्दोलनमा सहभागीहरू नै पछि प्रधानमन्त्री र मन्त्री बन्नु प्रश्न उठाउने अर्को कारण भएको उनको भनाइ छ ।
नागरिक सरकार बनेलगत्तै जेल तोडेर भागेका कैदीबन्दीमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय हुनु, भाद्र २३–२४ का घटनामा जोडिएका व्यक्तिहरू एउटै पार्टीमा आबद्ध हुनु र मन्त्रीहरू समेत सरकार छोडेर त्यतै जानुलाई उनले ‘संयोग मात्रै मान्न नसकिने’ बताएका छन् ।
रास्वपाले जेन्जी आन्दोलनको अपनत्व लिएको घोषणा गर्नु र कार्की आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग बयान लिनु घटनाको गम्भीरता पुष्टि गर्ने आधार भएको विश्वकर्माको तर्क छ ।
“देश कसले किन जलायोरु यति धेरै मानिस किन र कसले मार्यो?” भन्दै उनले आयोगलाई अझ निष्पक्ष र गहिरो अनुसन्धान गर्न आग्रह गरेका छन् । आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै घटनामा संलग्न भनिएका पात्रहरूको दैनिक गतिविधिले धेरै कुरा छर्लङ्ग पार्दै गएको उनको निष्कर्ष छ ।
https://www.facebook.com/100002345290825/posts/25788509734143850/?rdid=imeixCDxCJgHNDuw#
नेता विश्वकर्माले सामाजिक संजाल फेसबुकमा पूर्ण विवरण लिङ्क क्लिक गरेर हेर्नुहोस्




