देश

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको चहलपहल, दुई पदका लागि मात्र मतदान

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान प्रक्रिया जारी छ । प्रदेश राजधानी विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

यसपटक कोशी प्रदेशमा कुल चार पदमध्ये दुई पदका लागि मात्र मतदान भइरहेको छ । अन्य समूह अन्तर्गत नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले ती पदमा मतदान आवश्यक परेन ।

निर्वाचन महिला र दलित कोटाका दुई पदका लागि भइरहेको हो । महिला तथा अल्पसंख्यकतर्फ एमालेबाट रोशनी मेचे र नेकपा (एकीकृत समाजवादी) बाट नमिता न्यौपाने उम्मेदवार रहेका छन् भने दलित कोटातर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेकपाबाट खेमराज सुन्दास चुनावी प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । कोशी प्रदेशमा ९२ जना प्रदेशसभा सदस्यसहित कुल ३५९ जना मतदाता छन् ।

निर्वाचन प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ तोकिएको छ । मतदान सकिएपछि मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *