राजनीति

राजनीतिक प्रवेशसँगै विवादमा रास्वपा उम्मेदवार पाण्डे, ‘उपहारको गाडी’ले उठायो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न लागेका राजु पाण्डे पुनः विवादको घेरामा परेका छन् । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङसँग प्रतिस्पर्धामा उत्रिन लागेका पाण्डेको विगत र हालको गतिविधिलाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन् ।

पाण्डे यसअघि काठमाडौं महानगरपालिकामा बालेन साह मेयर रहेको समयमा गैरकानुनी रूपमा सवा तीन वर्षसम्म एसएसपी पदमा कार्यरत रहेको आरोप खेप्दै आएका व्यक्ति हुन् । बालेन साहले मेयर पद छाडेर झापा पुगेर केपी शर्मा ओलीसँग राजनीतिक भिडन्तको तयारी गरेलगत्तै पाण्डेले पदबाट राजीनामा दिएका थिए ।

माघ महिनाको पहिलो साता रास्वपा सदस्यता लिन वनस्थलीस्थित घण्टीघर पुगेका बेला पाण्डेले प्रयोग गरेको सवारी साधनलाई लिएर पनि चासो बढेको छ । उनी चढ्ने कालो रंगको नयाँ किया सोनेट गाडी कुनै निजी व्यवसायीले ‘दानापानी’ स्वरूप उपलब्ध गराएको उनी निकट स्रोतले जनाएको छ । यसअघि बालेन साहले प्रयोग गरेको गाडी व्यवसायी कमल मालपानीले उपलब्ध गराएको घटनासँग यसलाई दाँजेर हेरिएको छ ।

महानगर क्षेत्रभित्र पार्किङ, भवन तथा सडक निर्माण, नक्सा पास, विज्ञापन होर्डिङ बोर्ड र सम्पदा संरक्षणजस्ता विभिन्न क्षेत्रमा संलग्न व्यवसायीबाट नगर प्रहरीले नियमित रूपमा ‘कोशेली’ उठाउने गरेको आरोप पनि सार्वजनिक हुँदै आएको छ । यस्ता पृष्ठभूमिमा रहेका व्यक्तिको राजनीतिक उम्मेदवारीले सुशासन र पारदर्शिताको नारामा प्रश्न उठाएको विश्लेषकहरूको टिप्पणी छ । पाण्डे र रास्वपाको तर्फबाट यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *