काठमाडौँ । राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने एक तिहाई सदस्यका लागि आज मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजे सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।
१७ सदस्यका लागि भइरहेको निर्वाचनमा सातै प्रदेशमा मतदान केन्द्र तोकिएका छन्। कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ), मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान भइरहेको छ।
त्यसैगरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की), लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, घोराही (दाङ), कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली) मा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
फागुन २० गते रिक्त हुने कुल १९ सदस्यमध्ये कोशी प्रदेशबाट एक सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन्। कोशी प्रदेशका खस आर्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।




