काठमाडौँ।प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरी प्रचारप्रसारमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले आफ्ना उम्मेदवार प्रस्तुत गरिसकेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार पार्टीले राष्ट्रियताका पक्षमा अडान र समृद्धिका पक्षमा काम गर्ने उद्देश्यले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने निर्णय गरेको हो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्री उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। नेकपाका नेता देवप्रसाद गुरुङका अनुसार निर्वाचनको परिणामपछि प्रचण्ड स्वाभाविक रूपमा प्रधानमन्त्री बन्ने संभावना रहेको छ। उहाँले भने, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरू पनि प्रधानमन्त्री पदका लागि योग्य रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरधाममा बृहत् सभा गर्दै काठमाडौँका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ। सभापति रवि लामिछानेका अनुसार भ्रष्टाचारको अन्त्य र सुशासनको मुद्दा सम्बोधन गर्न वरिष्ठ नेता शाहलाई प्रस्तुत गरिएको हो।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देन र श्रम संस्कृति पार्टीले अध्यक्ष एवं धरान उपमहानगरपालिका पूर्वप्रमुख हर्कराज राई साम्पाङलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर प्रचारप्रसार गरिरहेका छन्।




