देश

विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू प्रतिनिधि सभा निर्वाचनमा मैदानमा

काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा विद्यार्थी राजनीतिबाट उदाएका व्यक्तिहरू उल्लेख्य रूपमा उम्मेदवार बनेका छन् । चुनावी प्रतिस्पर्धामा वर्तमान तथा पूर्व विद्यार्थी सङ्गठनका नेतृत्व तहमा रहेकाहरू सक्रिय रूपमा होमिएका हुन् । विशेषतः नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीमा यस्ता उम्मेदवारको सङ्ख्या धेरै देखिएको छ ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा उदाएका नेता हुन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) अन्तर्गत त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति हुँदै थापा नेविसङ्घका महामन्त्री र उपाध्यक्षसमेत भएका थिए ।

भर्खरै नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल पनि नेविसङ्घका पूर्वअध्यक्ष हुन् । उनी काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । यसैगरी नेविसङ्घका पूर्वअध्यक्षहरू विमलेन्द्र निधि (धनुषा–३), ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी–४), गोविन्द्र भट्टराई (तनहुँ–१), एनपी साउद (कञ्चनपुर–१) बाट उम्मेदवार बनेका छन् ।

डडेलधुराबाट उम्मेदवार बनेका नैनसिंह महर पनि नेविसङ्घका पूर्वअध्यक्ष हुन् । यस जिल्लामा यसअघि २०४८ सालदेखि नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवाले लगातार निर्वाचन जित्दै आएका थिए । नेविसङ्घकै पूर्वअध्यक्ष गुरुराज घिमिरे मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका छन् ।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलको राजनीतिक यात्रा पनि विद्यार्थी सङ्गठनबाट सुरु भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पूर्वअध्यक्ष पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार छन् । अनेरास्ववियुका वर्तमान अध्यक्ष दीपक धामी डोटी जिल्लाबाट एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

अनेरास्ववियुका पूर्वअध्यक्षहरू ठाकुरप्रसाद गैरे (पाल्पा–२), खिमलाल भट्टराई (रुपन्देही–५), भानुभक्त ढकाल (तेह्रथुम), माधव ढुङ्गेल (रामेछाप), ऐन महर (बझाङ) बाट उम्मेदवार छन् । यसैगरी पूर्वउपाध्यक्ष रश्मि आचार्य (कास्की–२), पूर्ववरिष्ठ उपाध्यक्ष आरसी लामिछाने (गोरखा–१), गोकुल घर्ती (रोल्पा) र महेश बर्तौला (मकवानपुर–२) पनि एमालेका उम्मेदवार बनेका छन् ।

यद्यपि अनेरास्ववियुका पूर्वअध्यक्षहरू योगेश भट्टराई, रामकुमारी झाँक्री, नवीना लामा, सुनिता बराल र समिक बडाल यस पटक उम्मेदवार बनेका छैनन् ।

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपाने गोरखा–२ बाट उम्मेदवार बनेका छन् । सोही सङ्गठनका पूर्वअध्यक्ष देवेन्द्र पौडेल (पश्चिम नवलपरासी–२), हितमान शाक्य (काठमाडौँ–१०), हिमाल शर्मा (काठमाडौँ–६), कृष्णध्वज खड्का (प्युठान), रमेश मल्ल (सल्यान), रञ्जित तामाङ (झापा–५) तथा पूर्वउपाध्यक्ष विजय गौतम (मकवानपुर–१) र पूर्वकोषाध्यक्ष इन्द्र भुसाल (काठमाडौँ–४) पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर पनि विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी छन् ।

यसका साथै अन्य साना दलहरूमा पनि विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका थुप्रै व्यक्ति प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *