देश

उत्साहका साथ उद्योगी–व्यवसायी चुनावी मैदानमा,को कहाँबाट ?

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा यसपटक उद्योगी–व्यवसायी पृष्ठभूमिका उम्मेदवारको उल्लेख्य उपस्थिति देखिएको छ। ठूला औद्योगिक घरानादेखि साना–मझौला व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरू विभिन्न दलको टिकट लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसले संसद्‌भित्र आर्थिक क्षेत्रको प्रतिनिधित्व बढ्ने अपेक्षा पैदा गरे पनि स्वार्थको द्वन्द्वको जोखिमबारे बहस पनि सुरु भएको छ।

फोर्ब्सको सूचीमा सूचीकृत नेपालका एक मात्र अर्बपति विनोद चौधरीदेखि निर्माण, ऊर्जा, बैंकिङ, पर्यटन, कृषि, यातायात, वैदेशिक रोजगार र उद्योग क्षेत्रमा सक्रिय व्यक्तिहरू यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगी–व्यवसायीको राजनीतिमा प्रवेशलाई सकारात्मक रूपमा लिँदै भने, “संसद्‌मा सबै वर्गको प्रतिनिधित्व हुनु राम्रो हो, तर नीति निर्माण गर्दा निजी स्वार्थ र सार्वजनिक हित नजुधियोस् भन्ने सुनिश्चितता अनिवार्य छ।”

कांग्रेस केन्द्रीय सदस्य तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले नवलपरासी–१ बाट पुनः उम्मेदवारी दिएका छन्। उनी २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट, ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनीलकुमार शर्मा मोरङ–३ बाट र यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा रुपन्देही–२ बाट चुनावी मैदानमा छन्। पर्सा–१ मा अनिलकुमार रुंगटा, झापा–३ मा अलैंची व्यवसायी राजेन्द्र घिमिरे, कैलाली–२ मा यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर उम्मेदवार बनेका छन्।

पर्यटन र बैंकिङ क्षेत्रका व्यवसायीहरू पनि उल्लेख्य संख्यामा उम्मेदवार छन्। मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल स्याङ्जा–१ बाट, पूर्वबैंकर मीनप्रसाद गुरुङ पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन्। मुस्ताङमा पर्यटन व्यवसायी योगेश गौचन, मनाङमा होटल तथा पर्यटन व्यवसायी पोल्देन छोपाङ गुरुङ, धादिङका विभिन्न क्षेत्रमा पर्यटन व्यवसायी रमेशप्रसाद धमला र कृष्ण रिजाल उम्मेदवार बनेका छन्।

त्यस्तै, कपिलवस्तु–३ मा लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया एमालेबाट उम्मेदवार छन्। मोरङका विभिन्न क्षेत्रमा दिलीप अग्रवाल, मनोज अग्रवाल र अन्य उद्योगी–व्यवसायीहरू मैदानमा छन्। भक्तपुर–१ मा भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जित राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। सिराहा–४ मा जनमत पार्टीबाट व्यवसायी डा. वीरेन्द्रप्रसाद महतो उम्मेदवार छन्, जो अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *