राजनीति

झापा–५ मा बालेन खोज्दैछन् भिडको राजनीति भित्र भोट, ओली जोड्दैछन् विकास र समृद्धिका विषय

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा–५ देशकै सबैभन्दा बढी चासोको निर्वाचन क्षेत्र बनेको छ। कारण स्पष्ट छ—प्रधानमन्त्रीका दाबेदार दुई फरक ध्रुवका पात्र, विकासप्रेमी,राष्ट्रवादी शक्ति नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह ९बालेन्द्र०, यही क्षेत्रबाट आमनेसामने उत्रिएका छन्। बालेन शाह गत भाद्र २३ र २४ गते को जेनजी आन्दोलनका उक्साहट जसले ८४ अर्बको क्षेति गरायो र ७६ जनाको ज्यान लिन बाध्य पार्ने पात्र। त्यति मात्र होइन् काठमाडौंमा गरिब,कबाडी ठेलावाला र सुकुम्वासीको समस्या बुझ्न नसकेका पात्र। सामाजिक संजालमा रैला मच्याएर भिड जम्मा गर्ने पात्र । यस्ता पात्र देशका लागि घातक हुन्छन् ।

एमाले सचिवालयले ओलीलाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ। उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेनबीच पुस १३ गते भएको ७ बुँदे सहमतिअनुसार, बालेन पनि चुनावपछि प्रधानमन्त्रीको आकांक्षीसहित झापा–५ बाट मैदानमा छन्। यही कारण झापा–५ अब साधारण निर्वाचन क्षेत्र नभई नेतृत्वको दिशानिर्देशक प्रतिस्पर्धाको केन्द्र बनेको छ।

मैदानमा दुई रणनीति

उम्मेदवारी दर्ता भएको भोलिपल्टदेखि नै ओली र बालेन दुवै जना आ–आफ्नो रणनीतिका साथ मैदानमा सक्रिय छन्। बुधबार बिहानैदेखि दुवैले स्थानीय मतदातासँग भेटघाट, छलफल र संगठनात्मक समन्वयलाई तीव्र बनाएका छन्। प्रधानमन्त्री बन्ने आकांक्षा बोकेका दुवै नेताका लागि यो निर्वाचन केवल सिट जित्ने लडाइँ नभई राजनीतिक प्रतिष्ठाको परीक्षा पनि हो।

बालेनको ‘भोट खोज्ने’ अभियान

रास्वपाले दमकमा भाडामा लिएको घरलाई आधार बनाएर बालेनले भेटघाटलाई तीव्र बनाएका छन्। झापाका लागि नयाँ अनुहार भए पनि उनलाई भेट्न युवादेखि वृद्धसम्मको भीड लागिरहेको छ। रास्वपाका नेता–कार्यकर्तासँग मात्र होइन, कांग्रेस र एमालेका स्थानीय युवा नेताहरूलाई समेत आकर्षित गर्ने प्रयास बालेनको अभियानमा देखिएको छ।

बुधबार मात्रै कांग्रेसका दमक सभापति प्रकाश प्रसाईं र कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकीले बालेनलाई समर्थन गर्दै रास्वपामा प्रवेश गरे। एमाले निकट युवा संघ दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले पनि रास्वपामा प्रवेश गरेको घोषणा गरेका छन्। बालेनको टिम आगामी एक सातासम्म झापामै बसेर चुनावी माहौल बनाउने रणनीतिमा छ।

ओलीको ‘स्थायित्व र विकास’को सन्देश

युवामाझ बालेनको आकर्षण बढिरहँदा ओली पनि आफ्नै शैलीमा मैदानमा छन्। उम्मेदवारी दर्तापछि लगातार स्थानीय नेता–कार्यकर्तासँग भेटघाटमा व्यस्त ओलीले झापामा आफूले गरेका विकास, एमालेको राष्ट्रिय नीति र स्थायित्वको मुद्दालाई मुख्य एजेन्डा बनाएका छन्।

कमल गाउँपालिकामा आयोजित भेटघाटमा ओलीले एमालेले ७० प्रतिशत मत ल्याएर जित्ने दाबी मात्र गरेनन्, कार्यकर्तालाई उच्च मनोबलका साथ लाग्न निर्देशन पनि दिए। कांग्रेस कमजोर अवस्थामा रहेको र पूर्वमाओवादी मतदातासमेत एमालेतर्फ आकर्षित भइरहेको दाबी गर्दै ओलीले दुई तिहाइभन्दा बढी मतसहित जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

अस्थिरता र हिंसाको राजनीतिमाथि कटाक्ष गर्दै ओलीले दमकमा भएका विकास परियोजनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे। “देश जलाएर, जनता आतंकित पारेर राजनीति हुँदैन,” भन्दै उनले आफू स्थायी विकास र समृद्धिको मार्गमा रहेको सन्देश दिए।

बहुकोणीय प्रतिस्पर्धा

झापा–५ मा एमालेबाट ओली र रास्वपाबाट बालेनसँगै नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, नेकपाबाट रञ्जित तामाङसहित २४ जना उम्मेदवार मैदानमा छन्। तर वास्तविक प्रतिस्पर्धा भने ओली र बालेनबीच केन्द्रित भएको स्पष्ट देखिन्छ। अब झापा–५ को मतदाताले रोज्ने विकल्प केवल व्यक्ति मात्र होइन—अनुभव र स्थायित्वको राजनीति कि परिवर्तन र प्रयोगको चाहना। यही निर्णयले न केवल झापा–५, राष्ट्रिय राजनीतिमा पनि दूरगामी सन्देश दिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *