राजनीति

कांग्रेसभित्र “पश्चिमी हस्तक्षेप” र गगन थापाको नेतृत्वः लोकतन्त्र र पार्टीको भविष्यमाथि जोखिम

काठमाडौं । नेपाली कांग्रेस अहिले इतिहासकै संवेदनशील मोडमा उभिएको छ। पार्टीभित्र देखिएको असमान हस्तक्षेप र गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि गरेका उम्मेदवार छनोटले आन्तरिक विवादलाई नयाँ उचाइ दिएको छ। यो घटनाक्रम केवल पार्टीको आन्तरिक मामिला मात्र होइन, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पनि गम्भीर चुनौतीको रूपमा हेरिएको छ।

पश्चिमी प्रभाव र नेतृत्व विवाद

कांग्रेसलाई चुनावी प्रक्रिया र नेतृत्वको असमान हस्तक्षेपले अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्रमा पारेको छ। वरिष्ठ नेताहरूका अनुसार, “कांग्रेसभित्र प्रजातान्त्रिक आवरणमा भएको नेतृत्व हत्याकै जस्तो घटना हो। यसमा गरिएको हस्तक्षेप केवल पार्टीमा मात्र नभई सम्पूर्ण नेपाल राष्ट्रमाथिको आक्रमण हो।” मिडियाको एकपक्षीय प्रयोग, पैसाको खोलो, र डिजिटल दबाबले सभापति सार्वजनिक रूपमा असहज स्थितिमा पुर्‍याइएको बताए छ । अहिलेसम्म सर्वोच्चको फैसलाले को सभापति देउवा कि गगन भन्ने आधिकारिकता दिइसकेको छैन् ।भराजनीतिक विश्लेषकहरुका अनुसार, “विश्व राजनीति मानव जातिले नदेखेको उथलपुथलको चरणमा छ। नेपाली राजनीतिक नेतृत्वले संयमित र रणनीतिक कदम चाल्नुपर्नेछ। युक्रेनको २०१९ निर्वाचनले देखाएको जस्तो भूल नेपालमा पनि दोहोरिन सक्छ।”

गगन थापाको नेतृत्व र गुटीय रणनीति

कांग्रेसको विशेष महाधिवेशनमार्फत सभापति बनेका गगन थापाले प्रत्यक्षतर्फ उम्मेदवार छनोटलाई गुटीय सुदृढीकरणको उपकरणको रूपमा प्रयोग गरेको आरोप कांग्रेसभित्र व्यापक छ। तथ्यांकअनुसार, प्रतिनिधिसभा १६५ सिटमध्ये ७३ प्रतिशत थापा निकट उम्मेदवारको लागि छुटाइयो। कोसीमा २८ मध्ये १७, मधेसमा ३२ मध्ये २१, बागमतीमा ३३ मध्ये २९ सिट थापा पक्षीय उम्मेदवारका लागि सुरक्षित गरिएको छ। विश्लेषकहरू भन्छन्, “उम्मेदवार छनोट नीति, क्षमता वा स्थानीय लोकप्रियतामा आधारित नभई सभापतिको निकटता र गुटीय बलमा आधारित भएको छ।” नयाँ अनुहारलाई अवसर दिने दाबी भए पनि अधिकांश नयाँ उम्मेदवार पनि थापा निकट छन्। महिला सहभागितामा पनि असन्तोष छ, किनभने ११ महिला उम्मेदवार पठाइएको भए पनि यो चयन प्रक्रिया पूर्णरूपमा पारदर्शी देखिन्न।

 

सर्वोच्च अदालतले विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयबारे १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न अग्राधिकार दिएको छ। यदि पार्टी चुनावमा कमजोर नतिजामा सीमित भयो भने यसको सम्पूर्ण राजनीतिक मूल्य थापा नेतृत्वले चुकाउनुपर्ने छ। कांग्रेसभित्र देखिएको गुटीय हस्तक्षेप र नयाँ नेतृत्वको प्रयोगले दीर्घकालीन स्थायित्वमा शंका उत्पन्न गरेको छ।असमान टिकट वितरण र पुराना नेताहरूको पाखा लगाउनु पार्टी एकताको विकल्पभन्दा गुटीय प्रभुत्वको संकेत हो । यस्तै पार्टीभित्रको असन्तोषले एमाले, माओवादी र नयाँ दललाई अप्रत्यक्ष लाभ दिएको छ। गगन थापा कांग्रेसलाई नयाँ युगतर्फ लैजान सफल हुने कि पार्टीलाई थप विभाजनतर्फ धकेल्ने नेताका रूपमा इतिहासमा दर्ता हुने – यसको उत्तर अब निर्वाचनको परिणामले दिनेछ। निर्वाचन आयोगको वैधानिकता उनलाई सत्ता दिएको छ, तर जनमतको अदालतले उनलाई पास गर्छ कि फेल भन्ने वास्तविक परीक्षण यही निर्वाचन हुनेछ।

यो घटनाक्रमले नेपाली कांग्रेसको लोकतान्त्रिक अभ्यास, नेतृत्वको पारदर्शिता र पार्टीको दीर्घकालीन अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको छ। यही संकटको घडीमा पार्टीको आन्तरिक सचेतनाको अभावले देशको राजनीतिक स्थायित्व र लोकतन्त्रको भविष्यलाई पनि जोखिममा पार्न सक्छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *