देश

निर्वाचनमा ‘डिजिटल हतियार’ लोकतन्त्रका लागि घातक : एमाले सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डिजिटल माध्यम र एल्गोरिदमको दुरुपयोग लोकतन्त्रका लागि गम्भीर चुनौती बन्दै गएको चेतावनी दिएका छन्। उनले देश निर्माणको स्पष्ट एजेन्डा बोकेका राजनीतिक शक्तिभन्दा भ्रम र हेरफेरमार्फत सत्ता कब्जा गर्ने उद्देश्य राख्ने केही समूहहरू सक्रिय भएको बताएका छन्।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई नै कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गरे। उनका अनुसार यस्ता शक्तिहरूको प्राथमिक लक्ष्य जनताको जीवनस्तर सुधार गर्नु नभई डिजिटल ‘अल्गोरिदम’को खरिद–बिक्रीमार्फत जनमतलाई प्रभावित पार्दै सत्ता हात पार्नु हो।

“देशलाई कमजोर बनाउने योजनासहित आएका पात्रहरू अहिले सक्रिय छन्,” बस्नेतले भने, “उनीहरू विकास र समृद्धिको बहस गर्न होइन, भ्रम सिर्जना गरेर सत्तामा पुग्न राजनीतिमा आएका हुन्।”सामाजिक सञ्जालमा बढ्दो प्रभावप्रति संकेत गर्दै उनले साइबर संरचनाबाट उत्पादन गरिने कृत्रिम आवाजहरू जनताको वास्तविक चाहनाको प्रतिनिधित्व नगर्ने दाबी गरे। फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले लेखेका छन्, “साइबर फ्याक्ट्रीबाट निस्कने आवाज जनताको होइन। भ्रम, झुट र तथ्यको हेरफेरमार्फत जनमत कब्जा गर्ने प्रयास अत्यन्त खतरनाक छ।”

बस्नेतले यस्तो प्रवृत्तिलाई समयमै चिन्न र प्रतिरोध गर्न सबै राजनीतिक दल तथा नागरिक सचेत हुनुपर्नेमा जोड दिए। उनका अनुसार आजको मुख्य चुनौती भनेकै डिजिटल एल्गोरिदमको आडमा देशको राजनीतिक दिशा नियन्त्रण गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनु हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *