काठमाडौं । गगन थापा नेतृत्वको कांग्रेसले टिकटमा अपारदर्शीता देखाएपछि कालिकोटमा नेपाली कांग्रेसका दुई उम्मेदबार मैदानमा उर्तिएका छन् । कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीलाई टिकट नदिएपछि अर्का कांग्रेसकै उम्मेदबार उम्मेदवार हर्षबहादुर बमविरुद्ध ‘बागी’ उनी उम्मेदवार बनेका छन्।
शाही यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए। यसपटक पनि पार्टीबाट टिकट पाउने विश्वाससहित उनले प्रारम्भिक चरणदेखि नै चुनावी अभियान चलाइरहेका थिए। तर, विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको गुटीय ध्रुवीकरणले उनको राजनीतिक अपेक्षामा धक्का दिएपछि शाही बागी उम्मेदवार बन्न बाध्य भएका हुन् ।
पार्टीभित्र डा. शेखर कोइराला निकट मानिने शाही विशेष महाधिवेशनको पक्षमा नखुलेका कारण टिकट वितरणमा पछि पारिएको स्रोतले जनाएको छ । सोही कारण विशेष महाधिवेशनको समर्थन गरेका हर्षबहादुर बम कांग्रेसको आधिकारिक उम्मेदवार बन्न सफल भए। यही निर्णयप्रति असन्तुष्टि जनाउँदै शाही स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।
कालिकोटको चुनावी प्रतिस्पर्धा यसपटक बहुआयामिक बन्दै गएको छ। नेकपा (एमाले) ले नागीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ भने नेकपा (माओवादी केन्द्र) बाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रकाश न्यौपानेलाई उम्मेदवार बनाएको छ। यसैबीच, नेकपा पृष्ठभूमिका महेन्द्रबहादुर शाहीविरुद्ध जीवन बुढा पनि ‘बागी’ उम्मेदवारका रूपमा उभिएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही २३ हजार ७२७ मतसहित विजयी भएका थिए। एमालेका नागीन्द्र शाही १६ हजार ७१८ मत ल्याएर दोस्रो स्थानमा रहे भने राप्रपाका धनबहादुर बुढा १ हजार ५९३ मतसहित तेस्रो भएका थिए।
यसपटक कांग्रेसभित्रकै बागी उम्मेदवारी, वाम दलहरूबीचको प्रतिस्पर्धा र नयाँ राजनीतिक शक्तिको उपस्थितिले कालिकोटको चुनावी परिणाम थप अनिश्चित र चासोपूर्ण बन्ने संकेत देखिएको छ।




