राजनीति

एमालेविरुद्ध गरिने उक्साहट र दबाबको राजनीति गम्भीर परिणाम निम्त्याउने ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध गरिने उक्साहट र दबाबको राजनीति गम्भीर परिणामतर्फ जान सक्ने चेतावनी दिएका छन्। झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले पार्टीलाई अनावश्यक रूपमा जिस्काउने र बिच्क्याउने प्रयास महँगो पर्ने स्पष्ट सन्देश दिए।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले झापामा केही युवाहरूले धकेलाधकेल गरे पनि स्थिति ठूलो झडपमा नपुगेको बताए। उनले घटनालाई योजनाबद्ध उक्साहटको संकेतका रूपमा व्याख्या गरे। “एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको सजिलो कुरा होइन,” ओलीले भने, “यस्तो गतिविधि कसैले पनि नगरेकै राम्रो हुन्छ।”

ओलीले पछिल्लो समय देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको दाबी गर्दै अनुभवहीन नेतृत्व र भ्रमपूर्ण राजनीतिक गतिविधिले मुलुकलाई जोखिमतर्फ लैजाने चेतावनी दिए। “अहिले देशमा आगो लगाउने प्रयास भइरहेका छन्, नयाँ पुस्तालाई भ्रममा पारिँदैछ,” उनले भने, “देश जोगाउन अनुभवी र दृढ नेतृत्व आवश्यक छ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकार संरक्षित दलको संज्ञा दिँदै त्यसको गतिविधिले समाजमा द्वन्द्व सिर्जना गरिरहेको आरोप पनि लगाए। यसैबीच, झापाको दमक क्षेत्रमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएपछि दुई पक्षबीच तनाव बढेको बताइएको छ। रास्वपाका नेता बालेन्द्र शाहसहितको टोली झापा–५ मा उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका बेला नाराबाजी चर्किँदा अवस्था तनावग्रस्त बनेको हो।

घटनापछि क्षेत्रमा सुरक्षाको सतर्कता बढाइएको छ भने अवस्था अझै पूर्ण रूपमा सामान्य भइनसकेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *