काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
सरकारी स्रोतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनुपर्ने भएकाले उनले समयमै मन्त्री पदबाट अलग हुने निर्णय गरेका हुन्।
खरेल सुशीला कार्की नेतृत्वको सरकारमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित सहभागी भएका थिए। तर पछिल्लो समय उनीमाथि सरकारमा रहँदै रास्वपाप्रति निकटता देखाएको आरोप लाग्दै आएको थियो। यही पृष्ठभूमिमा प्रधानमन्त्री कार्कीले नै उनलाई राजीनामा दिन सुझाएकी थिइन् भन्ने चर्चा पनि राजनीतिक वृत्तमा छ।
राजीनामापछि खरेल अब पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित हुने तयारीमा रहेको बताइएको छ।





