काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उम्मेदवारी क्षेत्र परिवर्तन गरेका छन्। झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेनले अन्ततः जनकपुर क्षेत्रबाट टिकट लिएको खुलासा भएको छ।
पार्टी सभापति रवि लामिछानेमार्फत बालेनले जनकपुरबाट उम्मेदवारी पाएका हुन्। लामिछाने र बालेन दुवै पार्टीको आमसभा कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका बेला उक्त निर्णय भएको रास्वपा स्रोतले जनाएको छ।
यसअघि बालेनलाई झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उतार्ने चर्चा तीव्र थियो। ओली झापा पुगेका बेला चन्द्रगढी विमानस्थलमा सयौँ कार्यकर्ताले नेपालको चुच्चे नक्सासहित गरेको भव्य स्वागतले एमालेको संगठनात्मक शक्ति र ओलीको राष्ट्रवादी छविलाई थप बल दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। यही ‘क्रेस’ देखेपछि बालेनले रणनीति परिवर्तन गर्दै झापाको सट्टा जनकपुर रोजेको टिप्पणी हुन थालेको छ।
ओली २०४८ सालदेखि निरन्तर झापा–५ बाट सक्रिय रहँदै आएका नेता हुन्। यसपटक पनि उनी सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्। ओलीको बलियो पकड रहेको क्षेत्रमा प्रत्यक्ष भिडन्तभन्दा फरक निर्वाचन क्षेत्र रोज्नु बालेनका लागि सुरक्षित र रणनीतिक निर्णय भएको बुझाइ छ।
यसअघि बालेन निकट नेताहरूले झापा पुगेर चुनावी अभियान सुरु गर्ने संकेत दिएका थिए। सामाजिक सञ्जालमा बालेनले लेखेको ‘शुभकामना सबैलाई, हामी आउँदै छौँ’ भन्ने स्टाटसलाई झापा–५ सँग जोडेर हेरिएको थियो। तर पछिल्लो निर्णयसँगै उक्त संकेत जनकपुर केन्द्रित भएको प्रष्ट भएको छ।
रास्वपाले बालेनलाई पार्टीको प्रमुख अनुहारका रूपमा अघि सार्दै प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा समेत सहमति गरिसकेको छ। अब जनकपुरबाट उनको उम्मेदवारीले मधेश केन्द्रित राजनीतिमा रास्वपाको प्रभाव विस्तार गर्ने अपेक्षा गरिएको छ।




