राजनीति

देउवाको नाम जोडेर फैलाइएको भेटवार्ताको हल्ला असत्य : निजी सचिवालयको खण्डन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेले भेट गरेको भन्ने चर्चा निराधार भएको निजी सचिवालयले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको उक्त जानकारी भ्रामक रहेको सचिवालयको भनाइ छ ।

शनिबार साँझ निजी सचिवालयले सार्वजनिक गरेको प्रतिक्रियामा सभापति देउवाले ती नेताहरूसँग कुनै पनि किसिमको भेटघाट नगरेको जनाइएको छ । भेट नै नभएको विषयलाई आधार बनाएर समाचार र सूचना प्रसारण हुनु गलत भएको सचिवालयले जनाएको छ ।

सभापति देउवाको नाम जोडेर फैलाइएका यस्ता सूचनाले पार्टीभित्र अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले जिम्मेवार भएर तथ्य जाँच गरी मात्र समाचार प्रकाशन गर्न सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

निजी सचिवालयका अनुसार पछिल्लो समय नेपाली कांग्रेसको आन्तरिक अवस्थालाई लिएर विभिन्न समूह र तत्वहरूले नियोजित रूपमा अफवाह फैलाउने प्रयास गरिरहेका छन् । यस्तो गतिविधिले नेता–कार्यकर्तामा अन्योल पैदा गर्ने भएकाले भ्रममा नपर्न पनि आग्रह गरिएको छ ।

सभापतिसँग सम्बन्धित गतिविधि र निर्णयबारे आधिकारिक जानकारी निजी सचिवालयमार्फत मात्र सार्वजनिक हुने भएकाले अपुष्ट स्रोतका आधारमा फैलाइने सूचनाप्रति सचेत रहन सचिवालयले सबैलाई अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *