राजनीति

निर्वाचन आयोगको निर्णय ‘सेटिङ’ अनुसार आयो, कानुनी लडाइँ लड्छौं :का.वा सभापति पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको निर्णयप्रति नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले कडा असन्तुष्टि जनाएको छ। आयोगको निर्णय त्रुटिपूर्ण तथा पूर्वनियोजित रहेको आरोप लगाउँदै देउवा पक्षका नेता एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त निर्णय अस्वीकार्य हुने स्पष्ट पारेका छन्।

निर्वाचन आयोगमा पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आयोगको निर्णय ‘सेटिङ’ अनुसार आएको दाबी गरे। “निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, त्यो निर्णय हामी मान्दैनौं,” उनले भने, “आधिकारिकताको निर्णय गर्दा आयोगले संस्थापन पक्षसँग कुनै किसिमको राय–सल्लाहसमेत लिएको छैन।”

आयोगको निर्णय सार्वजनिक भएसँगै कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकर्ताले काठमाडौं मात्र नभई देशभर त्यसको विरोध जनाएका छन्। निर्वाचन आयोग परिसरबाहिर प्रदर्शनमा उत्रिएका संस्थापन पक्षका नेता तथा कार्यकर्ताले गगन थापाको सभापतित्व अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन्।

उनीहरूले अवैधानिक भेला गरेर निर्वाचन आयोगसँग साँठगाँठ गरी जित हासिल गरेको आरोप लगाउँदै थापा समूहको निर्णय आफूहरूका लागि मान्य नहुने बताएका छन्। संस्थापन पक्षले आफूहरू पार्टीको विधि, विधान र संविधानको पक्षमा रहेको दाबी गर्दै विधानअनुसार नै अघि बढेको जिकिर गरेको छ।

पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी बाटो अपनाइने स्पष्ट पार्दै आवश्यक परे अदालतसम्म जाने चेतावनी दिएका छन्। “यो विषयमा हामी कानुनी लडाइँ लड्छौं,” उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *