राजनीति

८८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण कांग्रेस संस्थापन पक्षद्धारा आयोगमा पेश

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिँदै जाँदा सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनसँग सम्बन्धित ८८५ महाधिवेशन प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा पेश गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस नेताहरूको टोली शुक्रबार बिहान निर्वाचन आयोग पुगेको हो। टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष हस्ताक्षर फिर्तासम्बन्धी निवेदन तथा त्यसका प्रमाणहरू बुझाएको जनाएको छ।

देउवा पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भनिएको विशेष महाधिवेशनलाई विधानविपरीत भएको दाबी गर्दै आएको छ। उक्त महाधिवेशनमार्फत थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो।

विशेष महाधिवेशनका लागि आवश्यक कानुनी तथा विधानगत आधार नपुगेको देखाउन हस्ताक्षर फिर्ताको प्रमाण आयोगमा बुझाइएको कार्यवाहक सभापति खड्काले बताए। उनका अनुसार महाधिवेशन प्रतिनिधिहरूले पहिल्यै समर्थन फिर्ता गरिसकेको अवस्थामा विशेष महाधिवेशन वैध नहुने सभापति देउवा पक्षको निष्कर्ष छ।

कांग्रेसभित्र देखिएको यस विवादले पार्टीको आगामी दिशा र नेतृत्व संरचनामा थप अन्योल सिर्जना गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *