राजनीति

निष्कासित तीन नेताबाहेक सबै पुरानै जिम्मेवारीमा फर्किन का.वा सभापति खड्काको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक विवादकाबीच पार्टी अनुशासन उल्लङ्घन गर्ने तीन पदाधिकारीबाहेक अन्य सबै नेता तथा कार्यकर्तालाई पूर्ववत् जिम्मेवारीमा फर्किन औपचारिक आह्वान गरेको छ । पार्टीले संस्थागत संरचना जोगाउन अनुशासन कायम राख्नु अपरिहार्य भएको भन्दै यो सन्देश दिएको हो ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै बाँकी नेता–कार्यकर्तालाई आफ्नो भूमिकामा फर्किन आग्रह गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

खतिवडाका अनुसार पार्टीले हाल देखिएको अन्योल र विभाजनको अवस्था अन्त्य गर्न चाहेको छ । “पार्टी निर्णयको सम्मान गर्दै जिम्मेवारीमा फर्किनु नै अहिलेको आवश्यकताको विषय हो,” उनले भनिन् ।

कांग्रेस नेतृत्वले विधान र केन्द्रीय समितिको निर्णयलाई संस्थागत मापदण्ड मान्दै व्यक्तिगत असहमति वा गुटगत गतिविधिका कारण पार्टी सञ्चालन अवरुद्ध नहोस् भन्ने उद्देश्य राखेको स्पष्ट पारेको छ । निष्कासित तीन पदाधिकारी बाहेक अन्य सबैको हैसियत यथावत् रहने बताइएको छ ।

केन्द्रीय समितिको यो आह्वानलाई पार्टीभित्र अनुशासन कडाइसँग लागू गर्ने र समानान्तर गतिविधि अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *