काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर बढ्दो तनावकाबीच नेता डा. शेखर कोइरालाले पार्टी एकता जोगाउन पहल तीव्र पारेका छन्। उनले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीसँगको छलफलमा पार्टीलाई एकताबद्ध राख्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
छलफलका क्रममा नेता कोइरालाले कांग्रेसलाई विभाजनको दिशातर्फ जान नदिने अन्तिम प्रयासमा आफू लागेको बताए। पार्टीभित्र देखिएको असन्तुलन र अविश्वास चिर्न सबै पक्षसँग निरन्तर संवाद गरिरहेको उनको भनाइ छ।
“पार्टी फुट्नु हुँदैन भन्ने विषयमा म सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग निरन्तर कुरा गरिरहेको छु,” कोइरालाले भने, “तपाईंहरू ढुक्क हुनुहोस्, कांग्रेस फुट्दैन। निराश हुने अवस्था छैन, सबै एकताका लागि लाग्नुपर्छ।”
उनले पार्टी जोगाउन आवश्यक परे आफू ‘विष पिएरै भए पनि’ एकता कायम गरिछाड्ने दृढता व्यक्त गरे। कांग्रेसजस्तो ऐतिहासिक दल फुट्नु भनेको केवल संगठनको संकट मात्र नभई लोकतान्त्रिक प्रणालीकै लागि घातक हुने उनको संकेत थियो।
छलफलमा सहभागी वरिष्ठ अधिवक्ताहरूले भने कांग्रेस विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्रै हुने स्पष्ट पारे। उनीहरूको भनाइमा हाल महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशन प्रक्रिया वैधानिक नदेखिने र त्यसबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने अवस्था रहेको छ।
उक्त छलफलमा उपस्थित नेता तथा कार्यकर्ताहरूले पार्टीलाई विभाजनको संघारमा पुग्न नदिन कोइरालाले दुवै पक्षबीच सहजीकरणको भूमिका अझ सक्रिय रूपमा खेल्नुपर्ने सुझाव दिएका थिए। कांग्रेसको भविष्य एकतामै निर्भर रहेको निष्कर्षसहित छलफल सम्पन्न भएको बताइएको छ।




