राजनीति

विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा सभापति देउवा उपस्थित हुने भनि गरिएको चर्चा भ्रामिक :सचिवालय

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले आजदेखि औपचारिक रूपमा बन्द सत्रको चरणमा प्रवेश गर्दैछ। आइतबार सम्पन्न उद्घाटन सत्रपछि सुरु हुन लागेको बन्द सत्रलाई लिएर राजनीतिक वृत्तमा चासो बढिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिबारे फैलिएको सूचनालाई उनको सचिवालयले असत्य र भ्रामक भनेको छ।

भृकुटीमण्डपमा आयोजना हुने बन्द सत्रमा सभापति देउवा सहभागी हुने भन्दै सामाजिक सञ्जालमा प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको देउवाका स्वकीय सचिव भानु देउवाले स्पष्ट पारेका छन्। उनका अनुसार सभापति देउवाको आज उक्त स्थलमा जाने कुनै कार्यक्रम तय भएको छैन।

देउवाको सचिवालयले जारी गरेको स्पष्टिकरणमा भनिएको छ, “केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेका छन्। यसप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ र त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट गरिन्छ।”

विशेष महाधिवेशनको उद्घाटन सत्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेका थिए। सो सत्रमा सभापतिसहित शीर्ष तहका नेताहरूको अनुपस्थितिलाई विभिन्न कोणबाट व्याख्या गरिएको थियो।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बन्द सत्र भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि सुरु हुनेछ। बन्द सत्रको प्रारम्भमा विशेष महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि पारित गरिने र त्यसपछि नौवटा समूह बनाएर विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र समसामयिक राजनीतिक विषयमा गहिरो छलफल हुने छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज बिहान ११ बजेसम्म जारी रहने जनाइएको छ। कांग्रेस स्रोतका अनुसार बाहिर दाबी गरिएजस्तो हालसम्म नाम दर्तामा बहुमत पुगेको छैन। विशेष महाधिवेशनको बन्द सत्रले पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ, जसका कारण कांग्रेसभित्रको आन्तरिक राजनीतिक सरगर्मी थप चर्किएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *