देश

कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी ऐन अध्ययन गर्दै निर्वाचन आयोग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानका विषयमा पूर्वअध्ययनमा जुटेको छ । विशेषगरी आयोगका उच्चस्तरीय अधिकारीहरूले कांग्रेसभित्रबाट आउन सक्ने निर्णय र त्यससँग सम्बन्धित कानुनी प्रक्रियाबारे चासो देखाएका छन् ।

आयोग स्रोतका अनुसार कांग्रेसको विधान, राजनीतिक दलसम्बन्धी ऐन, त्यससँग सम्बन्धित नियमावली तथा विगतका नजिरहरूको गहन अध्ययन भइरहेको छ । कुनै प्रकारको विवाद उत्पन्न भएमा त्यसको प्रकृति कस्तो हुन सक्छ भन्ने पूर्वअनुमान गर्दै आयोगले आफूलाई तयारी अवस्थामा राखेको स्रोतको भनाइ छ ।

‘कुनै विवाद आयो भने कुन–कुन विषय आयोगमा आउन सक्छन् भन्ने आधारमा हामी अध्ययन गरिरहेका छौँ,’ आयोगका एक अधिकारीले भने, ‘विशेष महाधिवेशनबाट भएका निर्णयहरूको अद्यावधिक अन्ततः निर्वाचन आयोगमै आउनुपर्छ ।’

उनका अनुसार केन्द्रीय समिति संशोधन, विधान संशोधन, पार्टीको नाम, चुनाव चिह्न वा झण्डासम्बन्धी कुनै पनि निर्णय भए त्यसको अद्यावधिक आयोगमा गरिनुपर्ने हुन्छ । ‘निर्णय जे भए पनि आयोगसँग सरोकार रहने विषय हो,’ उनले स्पष्ट पारे ।

कांग्रेसको नेतृत्व परिवर्तन वा नीतिगत विषयमा संशोधन भए त्यसले वैधता पाउने प्रक्रिया प्रचलित ऐन र पार्टीको विधानअनुसार नै अघि बढ्ने भएकाले आयोगले पूर्वतयारी थालेको जनाइएको छ ।

‘अद्यावधिकका लागि आएका विषयमा हामी राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेर्छौँ । प्रक्रिया पूरा भएर आएको विषय रोक्ने अवस्था हुँदैन,’ ती अधिकारीले बताए ।

यता, निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि कांग्रेसभित्रको गतिविधिलाई आयोगले नजिकबाट नियालिरहेको बताएका छन् । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा यससम्बन्धी प्रश्नको जवाफ दिँदै उनले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले अवस्था अवलोकन गरिरहेको स्पष्ट पारे ।

‘कांग्रेसको विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश गर्दैन,’ उनले भने, ‘तर समग्र अवस्था आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’

नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको वैधताबारे विवाद रहँदै आएको छ । विवाद कायमै रहेका बेला विशेष महाधिवेशन सुरु भएकाले सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन आयोगले पूर्वतयारी थालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *