काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चर्किंदै गएको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा दिउँसो १ बजे पत्रकार सम्मेलन हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका सन्दर्भमा कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलनमार्फत पुनः विशेष महाधिवेशन स्थगित गर्न आग्रह गर्ने तयारी गरिएको छ।
पत्रकार सम्मेलनमा इतर समूहका नेता डा. शेखर कोइरालाको पनि उपस्थिति रहने जनाइएको छ। विशेष महाधिवेशनलाई लिएर देखिएको आन्तरिक मतभेदका कारण पार्टीको आन्तरिक राजनीति थप तातेको छ।
उता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। शुक्रबार बिहानै ५ बजेदेखि कार्यकर्ताले भृकुटीमण्डप र आसपास क्षेत्र चारतारे झन्डाले सजाएका छन्।
महामन्त्रीद्वयको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन वृहत जनपरिचालन समितिले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।




