काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति व्यापक रूपमा विस्तार गर्ने निर्णय गरेको छ। विभिन्न घटकहरू एकीकृत भएर बनेको पार्टीले यही २९ गते नयाँ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। यससँगै पार्टीको केन्द्रीय संरचना असाधारण रूपमा ठूलो बन्ने भएको छ। पार्टीका नेता प्रेमबहादुर सिंहका अनुसार अब नेकपाको केन्द्रीय समितिमा कुल २४९९ सदस्य रहनेछन्। “२९ गते दिउँसो १ बजे केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ,” सिंहले बताए, “त्यसै दिनभित्र केन्द्रीय कार्यसमिति, सचिवालय र केन्द्रीय कार्यसंयोजन समिति गठन गर्ने निर्णय पनि भएको छ।”
उनका अनुसार तोकिएको मितिमा करिब २३ सय केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्। बाँकी सदस्यहरूको नामावली भने अझै अन्तिम टुंगोमा पुग्न बाँकी रहेको छ। पार्टी संरचनाअन्तर्गत ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिने जानकारी पनि सिंहले दिएका छन्। सचिवालयको संख्या भने हालसम्म निश्चित नभएको उनले बताए। सचिवालयभन्दा सानो आकारको केन्द्रीय कार्यसंयोजन समिति पनि बनाइने निर्णय भएको छ।
शपथ ग्रहण कार्यक्रम भौतिक र डिजिटल दुवै माध्यमबाट सञ्चालन गर्ने तयारी छ। “काठमाडौंमा उपस्थित हुन सक्नेहरूका लागि यहीँ कार्यक्रम हुन्छ, टाढा रहेका सदस्यहरूलाई प्रदेशमै डिजिटल माध्यमबाट सहभागी गराउने छलफल भएको छ,” सिंहले स्पष्ट पारे। तर पार्टीको केन्द्रीय समिति यति ठूलो बनाउने निर्णयलाई लिएर आलोचना पनि सुरु भएको छ। यसअघि पनि प्रचण्ड नेतृत्वमा पार्टीको केन्द्रीय समिति हजारौँको संख्यामा विस्तार गरिँदा संगठनभन्दा अवसरवादी सोच हावी भएको आरोप लागेको थियो। ती निर्णयहरू पार्टीभित्रै व्यापक आलोचनामा परेपछि केही सच्याइएका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिले पुनः त्यही प्रवृत्ति दोहोरिनु नेतृत्वको प्राथमिकता संगठन सुदृढीकरणभन्दा पनि शक्ति सन्तुलन र अवसर व्यवस्थापनतर्फ केन्द्रित भएको संकेत हुन सक्छ। “पार्टी ठूलो बनाउने नाममा संरचना अस्वाभाविक रूपमा फैलिँदा संगठनात्मक प्रभावकारिता कमजोर हुने जोखिम रहन्छ,” विश्लेषकहरूको टिप्पणी छ।
केन्द्रीय समिति विस्तारले नेकपाभित्र शक्ति व्यवस्थापन सहज बनाउने कि थप जटिलता निम्त्याउने भन्ने प्रश्न आगामी दिनमा स्पष्ट हुँदै जाने देखिन्छ।




