काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपसभापति तथा केन्द्रीय सदस्य विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय सानेपा प्रवेश गर्ने क्रममा भएको दुर्व्यवहारप्रति उनले कडा प्रतिक्रिया दिएका छन्। निधिले उक्त घटनामा संलग्न व्यक्ति कांग्रेस कार्यकर्ता हुन नसक्ने स्पष्ट पारेका छन्।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका बेला बाहिर जम्मा भएको एक समूहसँग उनको भनाभन भएको थियो। सो क्रममा निधितर्फ लक्षित दुर्व्यवहारको दृश्य सामाजिक सञ्जालमा फैलिएको छ, जसले कांग्रेसभित्रको आन्तरिक तनाव पुनः सतहमा ल्याएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै निधिले भने, “विशेष महाधिवेशन पक्षधरको तर्फबाट केन्द्रीय कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै केन्द्रीय सदस्य मधु आचार्यज्यूले विज्ञप्ति नै जारी गर्नुभएको थियो। तर मेरो नजिक आएका व्यक्ति मदिरा सेवन गरेको अवस्थामा अनुचित व्यवहारमा उत्रिए। त्यो व्यक्ति कांग्रेस सदस्य होइन, कुनै परिचालित मान्छे हुन सक्छ।”
निधिले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको र घटनाले आफ्नो राजनीतिक अडान वा यात्रामा कुनै असर नपार्ने स्पष्ट पारे। “म नौ–दश वर्षदेखि यस्ता मण्डले प्रवृत्तिका दुर्व्यवहार भोग्दै आएको छु। यसलाई मैले ठूलो विषय बनाएको छैन,” उनले भने, “म आफ्नो राजनीतिक यात्रामा निरन्तर अघि बढिरहनेछु।”
यस घटनाप्रति कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पनि कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा लेखेका छन्, “आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन जाने क्रममा पार्टीका पूर्व उपसभापति आदरणीय विमलेन्द्र निधिमाथि केही व्यक्तिहरूले गरेको गलत व्यवहार अत्यन्तै दुःखद र निन्दनीय छ।”
गुरुङले लोकतन्त्रमा विचार राख्ने अधिकार सबैलाई भए पनि कसैमाथि दुर्व्यवहार गर्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै मानव अधिकारको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्। “कुनै पनि बहानामा अरूको मानव अधिकार हनन गर्न पाइँदैन,” उनको भनाइ छ।
यसैबीच, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले घटनालाई औपचारिक कार्यक्रमसँग जोडेर व्याख्या गर्नु गलत भएको बताएका छन्। “हामीतर्फबाट कुनै घेराउ वा औपचारिक कार्यक्रम थिएन, यो व्यक्तिगत र स्वस्फूर्त व्यवहार मात्र हो,” उनले प्रतिक्रिया दिए।
तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा देखिएको भिड, नाराबाजी र आक्रोशले भने पार्टीभित्र संगठित दबाब र असन्तोषको संकेत गरेको भन्दै आलोचना भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार सानेपामा देखिएको यो घटनाले कांग्रेसको आन्तरिक संस्थागत संरचनामाथि नै प्रश्न उठाएको छ। नेताहरूको प्रवेशमै अवरोध र तनावपूर्ण अवस्था सिर्जना हुनु पार्टीभित्रको शक्ति सन्तुलन चुनौतीपूर्ण बन्दै गएको संकेत हो। आगामी महाधिवेशन नजिकिँदै गर्दा यस प्रकारका घटनाले कांग्रेसको आन्तरिक राजनीति थप चर्किन सक्ने विश्लेषकहरूको भनाइ छ।




