काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गरेर जाने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ का विषयमा विस्तृत छलफल भएको थियो।
बैठकले माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य दलहरूसँग सहकार्य गर्दै चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस २३ गते बुधबार बिहान ९ बजे पुनः बस्नेछ।आजको बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राखेका थिए।





