राजनीति

अभियान रोक्न भारतबाट ७ अर्बको प्रस्ताव आएपछि अस्वीकार गरेको दुर्गा प्रसाईँको दाबी

काठमाडौं । राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रिय रहँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई सात अर्ब रुपैयाँको प्रस्ताव आएको दाबी गरेका छन्। उनले यो प्रस्ताव आफ्नो अभियान रोक्नका लागि भारत भ्रमणका क्रममा आएको बताएका हुन्।

पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त खुलासा गरेका हुन्। उनका अनुसार नयाँ दिल्लीस्थित होटल लीलामा केही व्यक्तिहरूले उनलाई अभियान अघि नबढाउन ठूलो रकमको प्रस्ताव गरेका थिए।

सरकारसमक्ष संविधान खारेज गर्दै जनमत संग्रहको घोषणा गर्नुपर्ने मागसहित २७ बुँदे मागपत्र अघि सारेका प्रसाईंले अर्बौंको प्रलोभन आफूले अस्वीकार गरेको बताए। “सात अर्ब रुपैयाँ दिएर यो अभियान नचलाउन आग्रह गरियो,” उनले भने, “तर त्यो रकममा दुर्गा प्रसाईं बिक्दैन, मलाई किन्ने पैसा संसारमै छैन।”

देशलाई सही दिशामा अघि बढाउन ‘नागरिक बचाउ महाअभियान’ सञ्चालन गरिएको उनको भनाइ छ। उनले आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पुस २७ गते राजधानीमा उपस्थित हुन समर्थकहरूलाई आह्वान गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *