राजनीति

जाँचबुझ आयोगमा तत्काली प्रधानमन्त्री ओलीको बयान छ बुँदामा सार्वजनिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका घटनाबारे जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। ती बुँदाहरू एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

ओलीले आइतबार आयोगसमक्ष बयान दिएका थिए। आयोगका पदाधिकारीहरू गुण्डुस्थित ओलीको निजी निवासमै पुगेर बयान लिएका थिए। त्यसक्रममा ओलीले आन्दोलन, सुरक्षा व्यवस्थापन र घटनाको पृष्ठभूमिबारे आफ्ना धारणा राखेका छन्।

बस्नेतका अनुसार ओलीले आयोगलाई दिएको बयानमा आन्दोलन शान्तिपूर्ण बनाउने प्रयासदेखि लिएर सुरक्षा निकायको भूमिका र छानबिनको निष्पक्षतासम्मका विषय समेटिएका छन्। ओलीको बयानका मुख्य बुँदाहरू यसप्रकार छन्— २२ भदौको साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको। आन्दोलनका क्रममा घुसपैठ र अराजक समूह सक्रिय भएको कुरा आन्दोलनमा सहभागी केही युवाहरूले स्वयं स्वीकार गरिसकेको।

घटनासँग सम्बन्धित तस्बिर र भिडियोले आन्दोलनमा संलग्न अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको देखाउने।
२३ भदौमा तोडफोड र अचानक गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको।

२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्ने चाहना भए पनि त्यो सम्भव हुन नसकेको।
घटनासँग जोडिएका गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेको अवस्थामा निष्पक्ष प्रतिवेदन आउनेमा आशंका। एमाले सचिव बस्नेतले यी बुँदाहरू सार्वजनिक गर्दै आयोगको निष्कर्ष र प्रतिवेदनप्रति चासो बढेको उल्लेख गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *