काठमाडौं । आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा सरकारले तीन पूर्व प्रधानमन्त्रीको सुरक्षा व्यवस्था थप कडा बनाउने तयारी गरेको छ । पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षालाई यथावत राख्दै आवश्यक परे थप बल परिचालन गर्ने गृह मन्त्रालयको तयारी छ ।
सुरक्षा अवस्था कमजोर भएको गुनासो बढेसँगै गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई पूर्व प्रधानमन्त्रीहरूको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको गृह स्रोतले जनाएको छ । सोहीअनुसार पछुवा गाडीसहित अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
यसअघि जेनजी आन्दोलनलाई कारण देखाउँदै तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो । तर, निर्वाचनसँगै सार्वजनिक गतिविधि र कार्यक्रमको संख्या बढ्ने देखिएपछि पुनः सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको गृह स्रोतको भनाइ छ ।
निर्वाचन अवधिभर मतदानस्थल वरपरको गतिविधि तथा नेताहरूको सार्वजनिक उपस्थितिलाई ध्यानमा राख्दै आवश्यकताअनुसार अन्य स्थानमा समेत सुरक्षा व्यवस्था थप गरिने तयारी भइरहेको छ ।




