काठमाडौं । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूबीचको दौडधुप तीव्र बनेसँगै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन गरिएको छ। मंगलबार बिहान ११ बजेका लागि तय बैठक दुई घण्टा पछि सारेर दिउँसो १ बजे बस्ने गरी पुनःनिर्धारण गरिएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै विशेष कारणवश बैठकको समय हेरफेर गरिएको जानकारी दिएका छन्। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन तथा चुनावी तालमेलको रणनीति तय गर्न कांग्रेसले उक्त बैठक बोलाएको हो।
कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच साझा उम्मेदवार वा चुनावी तालमेलका विषयमा अनौपचारिक सहमति नजिक पुगेको बताइँदै आएको छ। सो सहमतिको खाका अन्तिम रूप दिन कार्यसम्पादन समिति बैठकमा विस्तृत छलफल हुने बुझिएको छ।
यसअघि सोमबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्य दलसँग भइरहेको संवाद र छलफलका विषयमा केन्द्रीय नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए। उक्त बैठकपछि खड्का र नेता रमेश लेखक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए।
दलहरूबीच भइरहेको यही सघन संवाद र सहमति जुटाउने प्रयासकै कारण मंगलबारको बैठक केही पर सारिएको अनुमान गरिएको छ।




