काठमाडौं । कोशी प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनभित्रै नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने तयारी थालेका स्रोतहरूले बताएका छन्।
नेपाली कांग्रेसका सांसद भीम पराजुलीले जानकारी दिएअनुसार, आगामी १–२ दिनभित्रै नयाँ मन्त्रीहरूको नाम सार्वजनिक हुनेछ र शपथ ग्रहण हुने सम्भावना छ। एमालेबाट ६ जनाको नाम मन्त्रिपरिषद् सूचीमा रहेका छन्, जसमध्ये चार जना नयाँ मन्त्री बन्नेछन्। सम्भावित उम्मेदवारमा बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहता रहेका छन्।
नेपाली कांग्रेसबाट चार जना मन्त्री बन्ने लगभग निश्चित देखिन्छ। यसमा मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी र प्रदिप सुनुवारको नाम रहेका छन्।हालको सरकारले एमालेबाट राम राना (आर्थिक मामिला), पाँचकर्ण राई (सामाजिक विकास), रेवतीरमण भण्डारी (आन्तरिक मामिला तथा कानुन) र एकराज खनाल (खानेपानी, सिँचाइ तथा ऊर्जा) मन्त्रीको रूपमा कार्यरत छन्। विशेषज्ञहरूका अनुसार, यस फेरबदलले प्रदेश सरकारको स्थायित्व र दलबीचको सन्तुलनमा प्रभाव पार्नेछ।




